सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनको तयारी पुरा, मतदान बिहान ९ देखी ३ बजेसम्म





धनगढी, ११ माघ– सुदूरपश्चिममा बुधबार हुने राष्ट्रियसभा निर्वाचनको तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार बुधबार बिहान ९ बजेदेखि मतदान सुरु हुने छ । निर्वाचनको सम्पूणर् तयारी पूरा भइसकेको सुदूरपश्चिम प्रदेश निर्वाचन सहायक अधिकृत प्रेमराज भट्टले जानकारी दिए ।


बिहान ९ बजेदेखि सुरु हुने मतदान दिउसो ३ बजेसम्म चल्नेछ । मतदानका लागि प्रदेश सभाभित्रै दुई वटा मतदान केन्द्र बनाइएको भट्टले बताए । स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि एउटा र प्रदेशसभा सदस्यका लागि एउटा मतदान केन्द्र बनाएको भट्टले बताए ।



सुदूरपश्चिम प्रदेशमा तीन जना राष्ट्रियसभा सदस्य चुन्न नेकपा एमाले एक्लै र अन्य तीन दल गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् । नेकपा एमालेबाट महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका छन् ।
त्यस्तै गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीका तर्फबाट गरिमा शाहले मनोनयन दर्ता गरेका छन् । प्रदेशमा ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । ५२ जनामध्ये एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी (राजपा) का १ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का १ जना प्रदेशसभा सदस्य छन् ।
प्रदेशसभामा एकीकृत समाजवादीको मतभार सबैभन्दा बढी ६७२ छ भने माओवादी केन्द्रको ६२४, नेपाली कांग्रेसको ५७६ र एमालेको ५२८ मतभार छ । राजपा र लोसपाको ४८/४८ मतभार छन् । स्थानीय तहमा भने नेपाली कांग्रेस पहिलो स्थानमा छ । स्थानीय तहमा १७५ मतदातामध्ये कांग्रेसका ७४, एमालेका ७१, माओवादीका १७ र एकीकृत समाजवादीका १३ जना छन् ।
यसरी हेर्दा कांग्रेसको मतभार १ हजार ३३२ छ भने एमालेको १ हजार २७८ हुन्छ । माओवादीको ३ सय ६ रहेको छ भने एकीकृत समाजवादीको मतभार २३४ छ । स्थानीय तह र प्रदेशसभाको मतभार हेर्दा कांग्रेस सबैभन्दा बलियो देखिएको छ । कांग्रेसको सुदूरपश्चिम प्रदेशसभा र स्थानीय तहको मतभार जोड्दा १ हजार ९०८ हुन आउँछ । एमालेको १ हजार ८०४ छ भने माओवादी केन्द्रको ९२७ र एकीकृत समाजवादीको ९०६ मतभार रहेको छ ।



