चट्याङले टावरमा क्षति पुर्याउँदा एक हप्तादेखि सञ्चार विहीन




बैतडी, ३ माघ– चट्याङले बैतडीका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा क्षति गर्दा यहाँका नागरिक सञ्चारविहीन भएका छन्। गत पुस २६ गते परेको चट्याङले दोगडाकेदारस्थित खोचलेक, श्रीभावर, कठपते लगायतका टेलिकमका टावरमा क्षति गरेको हो ।



नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयबासीहरुलाई सञ्चारको समस्या भएको छ । एक हप्तादेखि टेलिकमको नेटवर्क नआउँदा सञ्चारका लागि समस्या भएको स्थानीयबासी समेत रहनु भएका नेकपा एमाले दोगडाकेदार गाउँपालिकाका अध्यक्ष काशीसिंह विष्टले जानकारी दिए । उनले भने,‘एक हप्तादेखि सञ्चार सेवा अवरुद्ध छ, बैंकिङ काम र अन्य कामबाट समेत बञ्चित हुनुपरेको छ ।’


नेपाल टेलिकम बैतडीलाई समस्या समाधानबारे जानकारी गराएको भएपनि हालसम्म पनि बन्न नसकेको स्थानीयबासीको आरोप रहेको छ । यता नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमाटाले भने यहाँका विभिन्न टावरमा परेको चट्याङले क्षति पुर्याएकाले नेटवर्कमा समस्या आएको बताए । खोचलेकमा रहेको टावरमा चट्याङले बढी क्षति गरेको र अन्यमा भने सामान्य क्षति पुगेको टमाटाले बताए । अन्य स्थानका टावरमा सामान्य क्षति रहेको भएपनि खोचलेकमा रहेको टावरमा आगलागी भएर उपकरणमा पूणर् क्षति भएको प्रमुख टमाटाले बताए ।
टावर मर्मतको लागि धनगढीबाट प्राविधिकको टोली आएर मर्मत सुरु गरिससकेको छ । प्रमुख टमाटाका अनुसार प्राविधिक टोली दुई दिनदेखि टावर मर्मतमै छ, आवश्यक केही सामान जिल्लामा उपलब्ध हुन नसक्दा समस्या भएको छ, एकदुई दिन भित्रै समस्या समाधन हुने बताए ।



