बैतडीमा बजार अनुगमन नहुँदा अधिकांश सामानमा उपभोक्ता ठगिदै

बैतडी, १९ कार्तिक– चाडपर्वमा हुनसक्ने कालोबजारी, मिसावट, ठगी नियन्त्रणका लागि गरिने बजार अनुगमन बैतडीमा हुनसकेको छैन। बजार अनुगमन नहुँदा तिहारका बेला बजारका अधिकांश सामानमा उपभोक्ता ठगिएका छन्। बजारमा म्याद नाघेका, लेबल नभएका, बिग्रेका, सडेगलेका सामान खुलेआम बिक्री गरेर उपभोक्ता ठगी भइरहेका छन्। तिहारमा सामान बढी खपत हुने हुँदा कमसल, म्याद नाघेका सामान पनि बढी बिक्री हुने गरेका छन्।

Dadeldhura hospital

पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढ्न थालेको छ। लागत मूल्य नै महँगो भएर आएकाले मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ। जिल्ला प्रशासनको नेतृत्वमा संयुक्त बजार अनुगमन समितिले यसअघि दसैँमा अनुगमन गरे पनि तिहारमा भने गर्न नसकेको हो। प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे गएको एक महिनादेखि जिल्ला बाहिर रहेका र अन्य सरोकारवाला निकाय पनि तिहारभन्दा अगाडि नै बिदामा रहेकाले अनुगमन हुन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। उनले भने, “प्रजिअ बाहिर हुनुहुन्छ, म एक्लै बजार अनुगमनमा जाने कि, कार्यालयमा बस्ने, हामी त कुनै अर्को कर्मचारी पनि पठाउँथ्याँै तर अन्य सरोकारवाला कार्यालयका कर्मचारी पनि बिदामा रहेकाले तिहारमा अनुगमन गर्न सकिएन।”

Navadurga sun
Godawari sandesh

कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउन र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गर्ने गरिन्छ। यसअघि नियमितरूपमा बजार अनुगमन हुने भनिए पनि तिहारमा बजार अनुगमन हुन नसकेको हो। उपभोक्ताको खाद्य अधिकारलाई सुनिश्चित गर्न र कालोबजारी रोक्न नियमितरूपमा बजार अनुगमन गर्नुपर्ने नागरिक समाज बैतडीका सचिव कर्ण दयालले बताए। बजार अनुगमन पनि प्रभावकारीरूपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।

उनले भने, “कालोबजारी रोक्न बजार अनुगमन नियमितरूपमा गर्नुपर्छ, प्रशासनले औपचारिकताका लागि मात्रै अनुगमन गर्नुहँुदैन।” बजार अनुगमन हुने गरेको भए पनि सदरमुकाम केन्द्रित मात्रै हुने गरेकाले ग्रामीण क्षेत्रका बजारमा समेत हुनुपर्ने उपभोक्ताको माग छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले बजार अनुगमन कार्यले व्यापारी र उपभोक्ता दुवै सचेत गराउन मद्दत पुग्ने गरेको बताए। व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न आग्रह गरिएको छ भने उपभोग्य मिति र लेबल हेरेर मात्र खरिद गर्न उपभोक्तालाई आग्रह गरिएको छ। यसअघि गत असोजमा दसैँ लक्षित र भदौँमा गरिएको बजार अनुगमनका क्रममा दुई लाख ५० हजार मूल्य बराबरका अखाद्य तथा म्याद गुज्रेका वस्तु बरामद गरिएको थियो। (रासस)

Loading...