प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा आर्थिक कूटनीति र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता

काठमाडौं- प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणमा उच्चस्तरीय राजनीतिक भेटवार्तासँगै आर्थिक कूटनीति, व्यापार, लगानी र निजी क्षेत्रबीचको सहकार्यलाई प्राथमिकता दिइने भएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते हुने दुईदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ।

Navadurga sun

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमसमेत आयोजना हुने जानकारी दिए।

उनका अनुसार उक्त फोरममा दुवै देशका व्यवसायीबीच व्यापार, लगानी, आर्थिक साझेदारी र सहकार्यका सम्भावनाबारे छलफल हुनेछ। भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय नेपाली व्यवसायीको टोली सहभागी हुने भएको छ।

भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ। भारतीय प्रधानमन्त्री मोदीले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने औपचारिक दिवाभोजमा पनि प्रधानमन्त्री शाह सहभागी हुनेछन्।

त्यसैगरी प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र विदेशमन्त्री डा. एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा ऊर्जा सहकार्य तथा सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने तयारी गरिएको छ। साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गरिनेछ।

सचिव राईका अनुसार नेपाल र भारतबीचको व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई थप विस्तार गर्न बिजनेस फोरमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहको भ्रमणमा सरकारी प्रतिनिधिमण्डलका ३४ सदस्यसहित निजी क्षेत्रका व्यवसायी तथा सञ्चारकर्मी सहभागी हुनेछन्।

सचिव राईले नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत तथा जनस्तरमा घनिष्ठ सम्बन्ध रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीको आसन्न भ्रमणले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

भ्रमणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन आयोजना गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

ADD Khali jpg
Loading...