दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि छठ पर्व सुरु भएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने यस पर्वको अवसरमा मिथिला क्षेत्रका गाउँबस्ती तथा बजारमा चहलपहल बढेको छ।




पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट छठ पर्व सुरु हुन्छ। दोस्रो दिन ‘खरना’ मनाइन्छ भने तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्। चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व विधिवत् सम्पन्न हुन्छ।





आस्था, निष्ठा र भक्तिको प्रतीक मानिने छठ पर्वमा सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को विशेष पूजा आराधना गरिन्छ। यस पर्वले परिवारको सुख, शान्ति, समृद्धि तथा कल्याण गर्ने जनविश्वास रहिआएको छ।


छठ पर्वको तयारीस्वरूप मिथिला क्षेत्रका घरघरमा छठका भक्तिगीत गुञ्जिन थालेका छन्। सूर्यदेव र छठीमाताको महिमा गाइने गीतले गाउँबस्तीको वातावरण छठमय बनेको छ।
पर्वका लागि स्थानीयवासी नदीकिनार, पोखरी तथा धार्मिक महत्वका जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन्। विशेषगरी युवा छठघाट निर्माण, सजावट तथा व्यवस्थापनमा सक्रिय देखिएका छन्।
बाँसका भाटा र झिक्रा प्रयोग गरी छठघाट सजाउने, घरका भित्ता लिपपोत तथा रङरोगन गर्ने काम पनि भइरहेको छ। सडक, घर तथा सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएपछि गाउँबस्ती थप आकर्षक देखिन थालेका छन्।
छठ पर्वको अर्को विशेषता सामाजिक सद्भाव र समानता पनि हो। यस पर्वमा जातीय तथा सामुदायिक विभेद नगरी सबैजना एउटै ठाउँमा भेला भएर सूर्यदेवको आराधना गर्ने परम्परा छ। पुराना मनमुटाव बिर्सेर आपसी एकता, सद्भाव र सहयोगका साथ पर्व मनाइन्छ।
धनी, गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ मनाउने छठ पर्वले सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भावलाई बलियो बनाउँदै आएको छ।




