धौलीगङ्गा बाँधका ढोका ४८ घण्टाका लागि खोलिए, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बैतडी- भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिएका छन्। बाँधमा जम्मा भएको सिल्ट सफाइ गर्न परियोजनाले असोज १७ गते राति १ बजेदेखि असोज १९ गते राति १ बजेसम्म ढोका खुला राख्ने भएको हो।

एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावर स्टेसन भारतबाट प्राप्त पत्रअनुसार बाँधका ढोका खोलिएको जानकारी बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले दिएकी छन्।

Navadurga sun

बाँधका ढोका खोलिएको अवधिमा महाकाली नदीको बहाव तथा जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। विशेषगरी नदी किनारमा नजान तथा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

दार्चुलाबाट बैतडी, डडेलधुरा र कञ्चनपुर हुँदै भारततर्फ बग्ने महाकाली नदीमा पानीको सतह बढ्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सचेत रहन प्रशासनले आग्रह गरेको हो।

२८० मेगावाट क्षमताको धौलीगङ्गा जलविद्युत् परियोजनाले बाँध खोल्नुअघि नेपाली पक्षलाई आवश्यक सतर्कताका लागि जानकारी गराउने गरेको प्रजिअ अर्यालले बताइन्। सोहीअनुसार नेपालतर्फ सुरक्षा तथा सावधानीका आवश्यक कदम चालिने गरिएको उनको भनाइ छ।

यसअघि गत साउन १३ गते पनि धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलिएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...