महाकालीको बाढीले झोलुङ्गे पुल बगायो, दोधारा–चाँदनीको आवतजावत ठप्प

कञ्चनपुर । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग बगाएको छ। पुलको बीच भागमा रहेको पिलर भत्किएपछि बुधबार बिहान करिब ८ बजे पुलको संरचना नदीमा खसेको हो।

पुलको एक भाग भत्किएपछि दोधारा–चाँदनी र भीमदत्तनगरबीचको महत्वपूर्ण पैदल आवागमन मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पुलबाट दैनिक आवतजावत गर्ने स्थानीय अहिले वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन्।

Navadurga sun

प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बर र दोधारा–चाँदनीतर्फबाट तेस्रो नम्बरको भाग भत्किएको हो। नदीको बीच भागमा रहेको पिलर कमजोर भएर भत्किएपछि पुलको संरचना समेत नदीमा खसेको प्रारम्भिक जानकारी छ।

भत्किनुअघि नै पुलको भाग माथि उठेको थियो

स्थानीयका अनुसार पुल भत्किनुभन्दा केही घण्टाअघि नै त्यसको एक भाग अस्वाभाविक रूपमा माथि उठेको देखिएको थियो।

महाकाली अनलाइनका प्रबन्धक खडक रावलका अनुसार बिहान करिब ४–५ बजेतिर पुलबाट आवतजावत गर्ने स्थानीयले पुलको एक भाग माथि उठेको देखेका थिए। स्थानीयले त्यसबारे प्रहरीलाई समेत जानकारी गराएका थिए।

तर जोखिम देखिएको केही घण्टापछि नै बिहान करिब ८ बजे पुलको उक्त भाग नदीमा खसेको रावलले बताए।

प्राविधिक टोलीले क्षतिको अध्ययन गर्ने

सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले पुलमा पुगेको क्षतिको विस्तृत अध्ययनका लागि प्राविधिक टोली पठाउने तयारी भइरहेको बताए।

‘पुलमा क्षति पुगेको जानकारी पाएलगत्तै प्राविधिक टोली पठाउने तयारी भइरहेको छ,’ जोशीले भने, ‘प्राविधिक टोलीले स्थलगत अध्ययन गरेपछि मात्रै क्षतिको वास्तविक अवस्था र आवश्यक मर्मत तथा पुनर्निर्माणबारे यकिन गर्न सकिन्छ।’

२०६१ सालमा निर्माण भएको थियो पुल

दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने उक्त झोलुङ्गे पुल २०६१ सालमा निर्माण सम्पन्न भएको थियो। लामो समयदेखि स्थानीयको आवतजावतको महत्वपूर्ण माध्यमका रूपमा रहेको पुल भत्किएपछि दुई क्षेत्रबीचको प्रत्यक्ष पैदल सम्पर्क टुटेको छ।

अब स्थानीयले आवतजावतका लागि करिब दुई किलोमिटर माथि पुगेर पक्की पुल प्रयोग गर्नुपर्ने अवस्था आएको रावलले बताए।

पुलमा क्षति पुगेसँगै स्थानीयको दैनिक आवतजावत प्रभावित भएको छ। पुलको क्षतिको विस्तृत विवरण भने प्राविधिक टोलीको स्थलगत अध्ययनपछि मात्रै सार्वजनिक हुने बताइएको छ।

ADD Khali jpg
Loading...