बैतडी- सुर्नया गाउँपालिका–८ ढोले रातापानी टोलमा पहिरो खस्दा स्थानीय बस्ती दोहोरो जोखिममा परेको छ। माथिल्लो भागबाट खसेको पहिरोले घरहरू जोखिममा पारेको छ भने पहिरोका कारण सुर्न्या नदीको बहावसमेत अवरुद्ध भएपछि नदीको पानी बस्तीमा पस्ने जोखिम बढेको स्थानीयले बताएका छन्।
पहिरो खसेको स्थानको माथिल्लो क्षेत्रमा रहेका करिब १० देखि १५ घर जोखिममा छन्। यस्तै, नदी किनारमा रहेका थप १० देखि १५ घर पनि नदी थुनिएर पानीको सतह बढेपछि जोखिममा परेका छन्। स्थानीयका अनुसार डम्बर बोहराको घर उच्च जोखिममा रहेको छ।



पहिरोका कारण सुर्न्या नदीको बहाव अवरुद्ध भएपछि नदीको पानी बस्ती आसपास जम्मा हुन थालेको स्थानीयको भनाइ छ। समयमै पहिरो व्यवस्थापन गरी नदीको बहाव सहज नबनाए थप क्षति हुन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
स्थानीय डम्बर बोहराका अनुसार घटनापछि अहिलेसम्म सम्बन्धित सरोकारवाला निकायको पर्याप्त ध्यान पुग्न सकेको छैन। जोखिममा रहेका घर तथा परिवारको सुरक्षाका लागि तत्काल आवश्यक पहल गर्नुपर्ने उनको माग छ।
पहिरो हटाउन गाउँपालिकाले सानो जेसीबी पठाए पनि पहिरोको क्षेत्र ठूलो भएकाले त्यसबाट प्रभावकारी काम हुन नसकेको स्थानीयको गुनासो छ। ठूलो क्षमताको मेसिन परिचालन गरी पहिरो हटाउन सके नदीको बहाव खुलाउनुका साथै बस्तीलाई सम्भावित जोखिमबाट जोगाउन सकिने उनीहरूको भनाइ छ।
स्थानीयले तत्काल ठूलो मेसिन परिचालन गरी नदीको बहाव खुलाउन, पहिरो नियन्त्रणका आवश्यक काम अघि बढाउन तथा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
