देशभर मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षाको सम्भावना
हिमाली, पहाडी र तराई क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा हावाहुरी र चट्याङबाट सतर्क रहन आग्रह
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानकै आसपास रहेको छ।
मनसुनी प्रणालीको प्रभावले देशभर साधारणतया बदली रहेको छ। कर्णाली प्रदेशका केही स्थानमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। त्यस्तै मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
तीन प्रदेशमा भारी वर्षाको सम्भावना
महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ।
त्यस्तै मधेस प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पनि वर्षाको सम्भावना
आज राति पनि देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ।
मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका केही स्थान र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा रातिको समयमा समेत भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
