बाबुको मुख हेर्ने दिन आज, पितालाई सम्मानसँगै मोतीराम भट्टको जन्मजयन्ती

कुशे औंसीका अवसरमा पिताको सम्मान, दिवंगत पिताप्रति तर्पण तथा श्राद्ध; नेपाली साहित्यका युगकवि मोतीराम भट्टलाई पनि स्मरण गरिँदै

हिन्दू धर्मावलम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व (कुशे औंसी) आज देशभर पितालाई विशेष सम्मान गर्दै मनाइँदैछ।

Navadurga sun

‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवतासरह सम्मान गर्नुपर्छ भन्ने धार्मिक मान्यताअनुसार आज छोराछोरीले आफ्ना पितालाई श्रद्धा र सम्मान व्यक्त गर्ने गर्छन्। यस अवसरमा पितालाई मीठा परिकार खुवाउने, नयाँ तथा राम्रो कपडा दिने र आशीर्वाद लिने परम्परा रहेको छ।

पिता गुमाएकाहरूले भने आजको दिन तर्पण, सिदा दान तथा श्राद्ध गर्ने चलन छ। विभिन्न पवित्र तीर्थस्थलमा पुगेर पितृप्रति श्रद्धापूर्वक श्राद्ध तथा तर्पण गर्ने परम्परा पनि रहेको छ। यसरी पितृकार्य गरेमा पितृऋणबाट मुक्त भइने धार्मिक तथा शास्त्रीय विश्वास छ।

आजकै दिन कुश उखेल्ने परम्परा

भाद्र कृष्ण औंसीका दिन वर्षभरि देवकार्य, पितृकार्य तथा अन्य धार्मिक कर्ममा आवश्यक पर्ने कुश उखेल्ने परम्परा पनि छ।

हिन्दू धार्मिक परम्परामा कुशलाई पवित्र वनस्पतिका रूपमा लिइन्छ। तुलसी, पीपल र शालिग्रामसँगै कुशलाई पनि धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। आजकै दिन विधिपूर्वक उखेलिएको कुश घरमा राख्दा शुभ तथा रक्षा हुने र कुश छोएमा पापबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ।

औंसीबाहेक अन्य दिन उखेलिएको कुश भने त्यसै दिन मात्र प्रयोग गर्न मिल्ने र आज उखेलिएको कुश वर्षभरि धार्मिक कार्यमा प्रयोग गर्न सकिने मान्यता छ।

मोतीराम भट्टको जन्मजयन्ती पनि आजै

कुशे औंसी नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण पर्व भए पनि आजकै दिन नेपाली साहित्यका युगकवि मोतीराम भट्टको जन्मजयन्ती पनि मनाइन्छ।

नेपाली साहित्यको विकासमा छोटो जीवनकालमै अतुलनीय योगदान पुर्‍याएका भट्टलाई नेपाली साहित्यमा आधुनिक चेतना र साहित्यिक जागरणका प्रमुख अभियन्ताका रूपमा स्मरण गरिन्छ। नेपाली साहित्यमा समालोचनाको प्रारम्भ गर्ने व्यक्तित्वका रूपमा समेत उनलाई महत्वपूर्ण स्थान दिइन्छ।

वि.सं. १९२३ भदौ २५ गते कुशे औंसीका दिन काठमाडौंको भोसिको टोलमा कुमाउगढका पण्डित दयाराम भट्ट र रिपुमर्दिनीदेवीका पुत्रका रूपमा मोतीराम भट्टको जन्म भएको थियो।

बाल्यकालमै परिवारसहित भारतको बनारस पुगेका उनले त्यहाँ शिक्षा हासिल गर्ने क्रममा उर्दू साहित्यको समेत अध्ययन गरेका थिए। उनले नेपालीसँगै उर्दू भाषामा समेत साहित्यिक सिर्जना गरेको पाइन्छ।

नेपाली साहित्यको विकास र विस्तारका लागि अत्यन्त छोटो जीवनमा उनले गरेको योगदान महत्वपूर्ण मानिन्छ। आदिकवि भानुभक्त आचार्यको जीवनी तथा कृतिलाई नेपाली पाठकसम्म पुर्‍याउन खेलेको भूमिका, नेपाली साहित्यमा समालोचनाको सुरुवात तथा साहित्यिक गतिविधिको विस्तारका कारण मोतीराम भट्टलाई नेपाली साहित्यका अग्रणी व्यक्तित्वका रूपमा श्रद्धापूर्वक स्मरण गरिन्छ।

यसरी आजको कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनले एकातर्फ जीवित पिताप्रति सम्मान र दिवंगत पिताप्रति श्रद्धा व्यक्त गर्ने अवसर प्रदान गरेको छ भने अर्कोतर्फ नेपाली साहित्यका युगकवि मोतीराम भट्टको योगदानलाई स्मरण गर्ने दिनका रूपमा पनि विशेष महत्व बोकेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...