कांग्रेसभित्र एकता कायम गर्न देउवालाई नरनारायण शाहको आग्रह

धनगढी- नेपाली कांग्रेसका नेता नरनारायण शाह ‘मनु’ले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई वर्तमान राजनीतिक परिस्थितिको वस्तुगत मूल्यांकन गर्दै संयमित र अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

शाहले मंगलबार सामाजिक सञ्जालमार्फत देउवालाई सम्बोधन गर्दै कांग्रेसलाई विभाजनबाट जोगाई एकढिक्का बनाउने वातावरण निर्माण गर्न आग्रह गरेका हुन्।

Navadurga sun

उनले देउवाको वरिपरि रहेका व्यक्तिहरूबाट हुने अत्यधिक प्रशंसा, आश्वासन तथा राजनीतिक गतिविधिले वास्तविक परिस्थितिको सही मूल्यांकन गर्न कठिन हुनसक्ने बताएका छन्। विमानस्थलदेखि नै फूलमाला, नाराबाजी र रङ्गमञ्चजस्तो वातावरण बनाएर वास्तविकताभन्दा फरक राजनीतिक चित्र प्रस्तुत गरिएको उनको टिप्पणी छ।

शाहका अनुसार देउवा नेपाली कांग्रेसका अग्रज नेता भएकाले अहिले उनले निर्वाह गर्ने भूमिका पनि सोही उचाइअनुसारको हुनुपर्छ। वर्तमान परिस्थितिमा आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले कांग्रेस र देउवाको राजनीतिक सम्मान जोगाउन महामन्त्री गगन थापाले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन्।

परिवार तथा राजनीतिक जीवनमा संकटका बेला धेरैले खुलेर बोल्न नसकेको स्मरण गर्दै शाहले पार्टीको गरिमा र नेतृत्वको सम्मानलाई केन्द्रमा राखेर बोल्नेहरूमध्ये गगन थापा अग्रपंक्तिमा रहेको दाबी गरेका छन्।

राजनीतिक जीवनको अन्तिम चरणमा पदभन्दा इज्जत, योगदान र इतिहासले सम्झिने विरासत महत्वपूर्ण हुने उल्लेख गर्दै शाहले देउवालाई आगामी पुस्ताका लागि विभाजन होइन, एकता र सहमतिको विरासत छाड्न आग्रह गरेका छन्।

उनले स्पष्ट रूपमा भनेका छन्, “कांग्रेस फुट्न नदिनुहोस्। पार्टीलाई एकढिक्का बनाउने वातावरण निर्माण गर्नुहोस्।”

देउवाको सम्मान र कांग्रेसको भविष्य एकअर्कासँग जोडिएको उल्लेख गर्दै शाहले अहिलेको अवस्थामा संयमित र दूरदर्शी कदम चाल्न आग्रह गरेका छन्। उनले देउवालाई आत्तिनुपर्ने अवस्था नरहेको भन्दै आगामी दिनमा अझ महत्वपूर्ण अभिभावकीय भूमिका निर्वाह गर्ने अवसर रहेको बताएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...