साँझ पर्नै लाग्दा कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित सुखड बजार चोकमा थारु समुदायका महिला, पुरुष, बालबालिका तथा युवायुवतीको भीड बढेको थियो। परम्परागत पहिरनमा सजिएका उनीहरूको हातमा चना, चामल, मकैका भुजा, विभिन्न परिकार तथा कपडाबाट बनाइएका गुरहन्या थिए।
केही समयपछि सुखड बजार चोकमा हर्षोल्लासका साथ ‘गुरही असरैना’ कार्यक्रम सुरु भयो। पश्चिम नेपालका थारु समुदायले हरेक वर्ष नागपञ्चमीका दिन मनाउने गुरही पर्व पछिल्ला वर्षहरूमा थप व्यवस्थित र भव्य बन्दै गएको छ।

थारु समुदायमा गाउँघरबाट रोगव्याधी हट्ने, शान्ति तथा सद्भाव कायम हुने र समाजमा सकारात्मक ऊर्जा फैलिने विश्वासका साथ गुरही पर्व मनाउने परम्परा रहिआएको छ। परम्परागत रूपमा गाउँका टोल, चौराहा तथा खुला स्थानमा सीमित हुँदै आएको यो पर्व पछिल्लो समय विभिन्न संघसंस्था तथा स्थानीय समुदायको सहभागितामा औपचारिक कार्यक्रमका रूपमा समेत मनाउन थालिएको छ।
गुरही पर्वले थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको स्थानीयको भनाइ छ। पछिल्लो समय पर्वलाई सामूहिक रूपमा उत्सवका रूपमा मनाउन थालिएपछि थारु संस्कृति र परम्पराको संरक्षणसँगै सामाजिक एकता र सद्भावसमेत मजबुत हुँदै गएको देखिन्छ।
