अत्तरिया- कैलालीको अत्तरियामा सामाजिक सद्भाव, आपसी विश्वास र धार्मिक सहिष्णुता प्रवर्द्धन गर्ने उद्देश्यले सद्भाव र्याली आयोजना गरिएको छ।
गोदावरी चेम्बर अफ कमर्स र जय गोदावरी अभियानको संयुक्त आयोजनामा भएको र्यालीमा विभिन्न सामाजिक, धार्मिक तथा नागरिक संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

र्यालीमा गोदावरी ज्येष्ठ नागरिक समाज, अत्तरिया बजार व्यवस्थापन समिति, गोदावरी स्काउट, अत्तरिया पतञ्जली योग समिति, मानव धर्म सेवा समिति, गोदावरी प्याब्सन, एन–प्याब्सन, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, बौद्ध समाज, मुस्लिम समाज, इसाई समाज, सन्त निरंकारी मण्डल, छठ पर्व समिति, थारु समाज तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागिता थियो।
र्याली सम्पन्न भएपछि सहभागीहरूले सामूहिक दीप प्रज्वलन गरेका थिए। जय गोदावरी अभियानका संयोजक तथा अध्यक्ष धिरेन्द्र बोगटीले समाजमा सद्भाव, एकता र आपसी विश्वासलाई अझ मजबुत बनाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताए।
