गेटा विश्वविद्यालयमा सरसफाइ कार्यक्रममा व्यापारीहरूलाई सहभागी हुन अत्तरिया उद्योग वाणिज्य संघको आह्वान
अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ५ स्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) को क्षेत्रभित्र बृहत् सरसफाइ कार्यक्रम आयोजना गरिने भएको छ। गोदावरी नगरपालिकाको आयोजनामा यही साउन १२ गते मङ्गलवारका दिन बिहान ७:०० बजेदेखि उक्त सरसफाइ कार्यक्रम हुन लागेको हो।


उक्त कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघले समेत सहकार्य गर्ने भएको छ। संघले एक अत्यन्त जरुरी सूचना जारी गर्दै गोदावरी नगरपालिका क्षेत्रभित्र व्यापार तथा व्यवसाय गर्दै आएका सम्पूर्ण उद्योगी, व्यापारी तथा व्यवसायीहरूलाई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरेको छ।

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कमल कडायतद्वारा हस्ताक्षरित सूचनामा सरसफाइ कार्यक्रमलाई प्रभावकारी बनाउन व्यवसायीहरूलाई आफूसँग भएका झाडू तथा सफाईका आवश्यक सामानहरू लिएर उपस्थित भई दिन आग्रह समेत गरिएको छ।
