अत्तरिया- अछामी छोरीबेटी समाज कैलालीले आफ्नो स्थापना दिवसलाई औपचारिक समारोहभन्दा सामाजिक सेवामार्फत अर्थपूर्ण बनाउने उद्देश्यले कैलालीको अत्तरियास्थित महिला तथा बालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग गरेको छ।
समाजको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत करिब ४५ जना अनाथ, असहाय तथा अभिभावकविहीन बालबालिका आश्रित रहेको सेभ हाउसलाई दैनिक उपभोगका लागि आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो।

कार्यक्रममा समाजकी अध्यक्ष भवानी शाहले स्थापना दिवसलाई समाजप्रतिको उत्तरदायित्व व्यवहारमा उतार्ने अवसरका रूपमा मनाइएको बताउँदै आगामी दिनमा पनि महिला, बालबालिका तथा विपन्न समुदायलाई लक्षित सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
सेभ हाउसकी अध्यक्ष जानकी मलासीले प्राप्त सहयोगले बालबालिकाको पालनपोषण, शिक्षा तथा व्यवस्थापनमा महत्वपूर्ण टेवा पुग्ने बताउँदै अछामी छोरीबेटी समाजप्रति आभार व्यक्त गरिन्। कार्यक्रममा गोदावरी नगरपालिकाकी पूर्व उपप्रमुख रत्ना कडायतले यस्ता सामाजिक अभियानमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।
कार्यक्रममा समाजका पदाधिकारी, समाजसेवी, स्थानीय बुद्धिजीवी, सेभ हाउसका कर्मचारी तथा आश्रित बालबालिकाको सहभागिता रहेको थियो। सहभागीहरूले मानव सेवा नै सबैभन्दा ठूलो सेवा भएको उल्लेख गर्दै यस्ता अभियानले समाजमा सहयोग र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए।
