धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई अनशन रोक्न आग्रह गरेको छ।
समितिका संयोजक लोकराज पाण्डेको नेतृत्वमा गएको टोलीले शुक्रबार कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई भेटेर विश्वविद्यालय सञ्चालन तथा विकास प्रक्रियामा असर पर्न सक्ने भन्दै अनशन रोक्न अनुरोध गरेको हो।

समितिले अनशन नरोक्ने भए विश्वविद्यालयसँग सम्बन्धित माग हटाएर मात्र सत्याग्रह जारी राख्न आग्रह गरेको छ। संयोजक पाण्डेले विश्वविद्यालय स्थापना सुदूरपश्चिमवासीको लामो संघर्षको परिणाम भएकाले यसको विकासमा अवरोध पुग्ने गतिविधि नगर्न आग्रह गरे। यता, डा. गोविन्द केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न मागसहित धनगढीमा आफ्नो २४औँ सत्याग्रह जारी राखेका छन्।
