अत्तरिया- कैलालीको अत्तरियास्थित सैनिक आवासीय महाविद्यालयले यस वर्षको कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो प्राज्ञिक श्रेष्ठतालाई पुनः स्थापित गरेको छ। विद्यालयले सार्वजनिक गरेको नतिजाअनुसार विज्ञान र व्यवस्थापन दुवै संकायका विद्यार्थीहरूले उच्च जीपीएसहित उल्लेखनीय सफलता प्राप्त गरेका छन्।


यस वर्ष विद्यालयबाट परीक्षामा सहभागी भएका कुल ६५ जना विद्यार्थीमध्ये सबै विद्यार्थी उत्तीर्ण भएका छन्। नतिजाअनुसार ११ जना विद्यार्थीले A+ ग्रेड, ४० जनाले A ग्रेड र १४ जनाले B+ ग्रेड प्राप्त गरेका छन्।



ग्रेडगत विवरणअनुसार A+ (३.६१–४.०० GPA) मा विज्ञान संकायका २ जना र व्यवस्थापन संकायका ९ जना गरी ११ जना विद्यार्थी उत्तीर्ण भएका छन्। त्यस्तै, A (३.२१–३.६० GPA) मा विज्ञानतर्फ १८ जना र व्यवस्थापनतर्फ २२ जना गरी ४० जना विद्यार्थी रहेका छन्। B+ (२.८१–३.२० GPA) मा विज्ञानतर्फ ११ जना र व्यवस्थापनतर्फ ३ जना गरी १४ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
संकायगत रूपमा हेर्दा विज्ञान संकायका ३१ जना र व्यवस्थापन संकायका ३४ जना विद्यार्थी उत्कृष्ट अंकका साथ उत्तीर्ण भएका छन्। विद्यालय प्रशासनले यस गौरवपूर्ण सफलताका लागि सम्पूर्ण विद्यार्थी, शिक्षक–शिक्षिका तथा अभिभावकहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ।
कडा अनुशासन, गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक उपलब्धिका कारण परिचित सैनिक आवासीय महाविद्यालयले यस नतिजासँगै सुदूरपश्चिम क्षेत्रमै आफ्नो साखलाई अझ उँचो बनाएको विद्यालयले जनाएको छ।