देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपालनजिक रहेको छ।
भारी वर्षाको सम्भावना भएका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

हाल मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बादल लागेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि मुख्यतया सफा मौसम रहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा तथा कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका धेरै स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका थोरै स्थानमा तथा बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आवश्यक छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
