बाजुरा- बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा लगातारको वर्षापछि आएको पहिरोले दुई घरमा क्षति पुर्याएको छ। पहिरोमा परी दुई जना सामान्य घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार २८ साउन बेलुकीदेखि परेको अविरल वर्षाका कारण पहिरो गएको हो। स्थानीय टेकबहादुर थापाले राति करिब १२:१० बजे प्रहरीलाई फोन गरी घटनाबारे जानकारी गराएका थिए।

पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। घटनालगत्तै प्रहरी चौकी बडिमालिकाबाट प्रहरी सहायक निरीक्षक रामबहादुर चन्दको नेतृत्वमा चार जनाको टोली उद्धारका लागि खटिए पनि ताम्सु खोलामा पानीको बहाव बढेका कारण तत्काल घटनास्थल पुग्न सकेन।
उद्धारका लागि बिहान ४ बजे प्रहरी चौकी बर्जुगाड र अस्थायी प्रहरी वेश क्याम्पबाट थप प्रहरी टोली परिचालन गरिएको थियो। त्यसैगरी बिहान ५ बजे जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको कमान्डमा १७ जनाको टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ।
घटनास्थल प्रहरी चौकी बडिमालिकाबाट करिब चार किलोमिटर उत्तरमा पर्छ। लगातारको वर्षा र खोलामा बढेको पानीका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य जारी छ।
