धनगढी- यातायात व्यवस्था कार्यालय, धनगढीले आर्थिक वर्ष २०८२/०८३ मा रु. ७७ करोड ५१ लाख २९ हजार राजस्व संकलन गरेको छ।
कार्यालय प्रमुख भुवन जोशीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा यस वर्ष रु. १ करोड ९५ लाख २ हजार ३६५ बढी राजस्व संकलन भएको हो। अघिल्लो वर्ष कार्यालयले विभिन्न शीर्षकमा रु. ७५ करोड ५६ लाख २७ हजार ३५५ राजस्व संकलन गरेको थियो।

संकलित राजस्वमध्ये सबैभन्दा बढी सवारीसाधन करबाट रु. ५९ करोड ३७ लाख १४ हजार ३८० संकलन भएको छ। त्यस्तै चालक अनुमति पत्र तथा सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु. १६ करोड ५५ लाख ८९ हजार ७४५ संकलन भएको कार्यालयले जनाएको छ।
यातायात क्षेत्रको आम्दानीअन्तर्गत लगतकट्टा, प्रदूषण तथा रुट इजाजतबाट रु. १ करोड ४१ लाख १३ हजार ८३५ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट रु. १६ लाख ७८ हजार २२० संकलन भएको छ।
त्यस्तै कार्यालयले बिमादाबी प्राप्तिबाट रु. ३२ हजार १४० तथा अन्य प्रशासनिक सेवा शुल्कबाट रु. १ हजार ४०० राजस्व संकलन गरेको जनाएको छ।
