अवरुद्ध रहेकाे फोन र विद्युत सेवा सञ्चालन
डोटी, ५ कार्तिक– लगातार वर्षाले बाढी–पहिराका कारण विगत पाँच/छ दिनदेखि अवरुद्ध भएको यहाँको बिद्युत तथा सञ्चार सेवा सञ्चालन भएको छ । वर्षाका कारण रुख ढलेर कैलालीको भासुभिर नजिक ३३/११ सय केभिए विद्युत प्रसारणको पोलमा क्षति भएका कारण अवरुद्ध बनेको विद्युत सेवा गए रातिबाट सञ्चालन गरिएसँगै अहिले जिल्लामा फोन तथा इन्टरनेट सेवा पनि सञ्चालन भएको साना जलविद्युत केन्द्र दिपायलले जनाएको छ । अवरुद्ध विद्युत र फोन सेवा सञ्चालन भएसँगै यहाँका नागरिकलाई आफ्ना समस्याका बारेमा जानकारी लिन र दिन निकै सहज भएको छ ।
यहाँका प्रमुख बजार, दिपायल, पिपल्ला, सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम राजपुरमा फोन तथा विद्युत सेवा सञ्चालन भए पनि ग्रामीण क्षेत्रमा विस्तार गरिएका विद्युत पोल पहिराले बगाएका कारण सञ्चालन हुन नसकेको जलविद्युत केन्द्रका प्रमुख कुम्भराज जोशीले बताए ।

प्रमुख सहर बजारमा विद्युत् र फोन सेवा सञ्चालन भए पनि यहाँका ग्रामीण क्षेत्रमा सञ्चालन नभएका तथा सडक सञ्जालसमेत अवरुद्ध हुँदा गाउँमा बाढी–पहिराले के–कति क्षति पुर्याएको छ भन्ने विषयमा जानकारी लिन निकै समस्या भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए । डोटीसँगै छिमेकी जिल्ला डडेल्धुरामा फोन र विद्युत सेवा सञ्चालन भए पनि जिल्ला अछाम तथा बाजुरामा भने सञ्चालन हुन सकेको छैन ।
