दोस्रो सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे मेला जेठ १९ गतेदेखि

धनगढी- सुदूरपश्चिम प्रदेशको मौलिक संस्कृति, परम्परा, खानपान र ग्रामीण पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित दोस्रो सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे मेला महोत्सव २०८३ आगामी जेठ १९ गतेदेखि सुरु हुने भएको छ।

“प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलुक निर्माण होमस्टेको अभियान” भन्ने मूल नारासहित आयोजना हुने महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ। भादास्थित दीपेन्द्र चारपाते माध्यमिक विद्यालयको खेल मैदानमा हुने महोत्सव जेठ २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

Navadurga sun
Godawari sandesh

थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा हुने महोत्सवलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रवर्द्धन गरेको छ। साथै होमस्टे महासंघ नेपालले समन्वय तथा सहकार्य गरिरहेको भादा होमस्टेका अध्यक्ष लक्ष्मीनारायण चौधरीले जानकारी दिए।

महोत्सवमा सुदूरपश्चिमका हिमाल, पहाड र तराईका विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति, रहनसहन, भेषभूषा र खानपान प्रस्तुत गरिनेछ। पछिल्लो समय लोप हुँदै गइरहेका परम्परा र संस्कृतिको संरक्षणसँगै होमस्टे पर्यटनलाई थप प्रवर्द्धन गर्ने लक्ष्य आयोजकको रहेको छ।

Dadeldhura hospital

हरेक दिन विभिन्न समुदायका सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरिनेछन् भने स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मको सांगीतिक प्रस्तुति रहनेछ। आगन्तुकले सुदूरपश्चिमका परम्परागत परिकारको स्वाद लिन पाउनेछन्।

त्यसैगरी थारु हस्तकलाको प्रत्यक्ष अवलोकन, काठे पिङ, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जंगल सफारी लगायत गतिविधिले महोत्सवलाई थप आकर्षक बनाउने आयोजकको विश्वास छ।

महोत्सवमा स्लो साइकल रेस, धैंटोफोर, भलाद्मी दौड तथा पेनाल्टी सुटआउटजस्ता खेलकुद गतिविधि पनि समावेश गरिएका छन्। आयोजकका अनुसार करिब एक लाख २५ हजार दर्शक तथा पर्यटक सहभागी हुने अपेक्षा गरिएको छ।

आयोजकले होमस्टे पर्यटनले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार, स्थानीय उत्पादनको बजारीकरण तथा सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताएका छन्। होमस्टेले विशेषगरी महिलाको आर्थिक सशक्तीकरण, स्थानीय भाषा संरक्षण तथा ग्रामीण जीवनशैली अनुभव गर्ने अवसर प्रदान गरिरहेको उल्लेख गरिएको छ।

हाल सुदूरपश्चिम प्रदेशमा ३६ वटा होमस्टे सञ्चालनमा रहेका छन्। तीमध्ये कैलालीमा सबैभन्दा बढी १५ वटा होमस्टे रहेका छन् भने कञ्चनपुरमा ५, अछाम र दार्चुलामा ४/४ तथा डडेल्धुरा, डोटी, बझाङ र बैतडीमा २/२ वटा होमस्टे सञ्चालनमा छन्।

“नेपालको वास्तविक सौन्दर्य महसुस गर्न होमस्टे रोजौँ” भन्ने सन्देशसहित आयोजना हुन लागेको यो महोत्सवले सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

Loading...