


अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा वैशाख १७ गतेदेखि २३ गतेसम्म “बुढीतोला पर्यटन महोत्सव २०८३” आयोजना हुने भएको छ। बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन तथा बजार व्यवस्थापन समितिको आयोजनामा हुने उक्त महोत्सवले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।


आयोजक समितिका संयोजक हरि दत्त भट्टराईका अनुसार महोत्सव आर्थिक लाभभन्दा पनि दीर्घकालीन पर्यटन विकास, स्थानीय उत्पादन प्रवर्द्धन तथा सांस्कृतिक संरक्षणमा केन्द्रित रहनेछ। महोत्सवमा स्थानीय कला, संस्कृति, परम्परागत भेषभूषा तथा पहाडी क्षेत्रका आकर्षणहरू प्रदर्शन गरिनेछन्।



गोदावरी नगरपालिका–४ का वडा सदस्य शेर बहादुर घर्तीमगरका अनुसार बुढीतोला धार्मिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण क्षेत्र हो, जहाँ गोदावरी धामको उद्गम स्थलसमेत रहेको छ। उनले महोत्सवले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरे।
सात दिनसम्म सञ्चालन हुने महोत्सवमा करिब ६० वटा व्यापारिक, शैक्षिक तथा सीप प्रवर्द्धनका स्टल रहनेछन्। साथै स्थानीयदेखि राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि रहनेछ।
आयोजकका अनुसार महोत्सवको प्रवेश शुल्क साधारणलाई १०० रुपैयाँ, विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ भने ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क प्रवेश व्यवस्था गरिएको छ।
“हामी सबैको एकता, समृद्ध बुढीतोला क्षेत्रको प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजना हुन लागेको यो महोत्सवले स्थानीय उत्पादन, पर्यटन र संस्कृतिको प्रवर्द्धनमार्फत समग्र क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।





