


धनगढी- कैलालीमा प्रहरीले व्यापक स्वीप अपरेसन सञ्चालन गरेको छ। वैशाख ९ गतेदेखि सुरु गरिएको उक्त अपरेसनअन्तर्गत तीन दिनको अवधिमा १६९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार पक्राउ परेकामध्ये ९३ जनालाई सोधपुछपछि छोडिएको छ भने बाँकी विभिन्न आरोपमा अनुसन्धानका लागि राखिएको छ। अपरेसनका क्रममा ३९ जना लागुऔषध सेवनकर्ता र २३ जना लागुऔषधसहित पक्राउ परेका छन्।


प्रहरीले ती २३ जनाबाट १७ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर, १ ग्राम ३०० मिलिग्राम चरेश, १७७ ट्याब्लेट नाइट्रोजेपाम, २०० पिस ट्रामाडोल र १७ ग्राम गाँजा बरामद गरेको जनाएको छ।
यसैगरी, अदालतबाट सजाय पाएर फरार रहेका १० जना प्रतिवादीलाई पनि पक्राउ गरिएको छ भने चार जना चोरी घटनामा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ।





