


धनगढी- धनगढी उपमहानगरपालिका–१ लक्ष्मीनगरमा कुकुरसँग सम्बन्धित सामान्य विवादले गम्भीर रूप लिँदा एक व्यक्तिको मृत्यु भएको छ। ५६ वर्षीय पतिराम चौधरीको ज्यान गएपछि घटना हत्या हो कि दुर्घटना भन्ने विषयमा अन्योल उत्पन्न भएको छ।


प्रहरीले घटनामा संलग्न भएको आशंकामा छिमेकी महेश श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। मृतकका परिवारजनले चौधरीलाई योजनाबद्ध रूपमा घरमा बोलाएर कुटपिट गरी हत्या गरिएको आरोप लगाएका छन्। तर, श्रेष्ठ पक्षले भने सिढीबाट लड्दा दुर्घटनावश मृत्यु भएको दाबी गर्दै आरोप अस्वीकार गरेको छ।


स्थानीयका अनुसार विवादको सुरुवात कुकुरको विषयबाट भएको थियो। श्रेष्ठको कुकुर मरेपछि त्यसको दोष चौधरीमाथि लगाइएको र सोही विषयलाई लिएर राति दुई पटक बोलाउन गएको बताइएको छ। दोस्रो पटक चौधरीलाई घरमै लगिएको घटनाले थप शंका उत्पन्न गरेको छ।

मृतकका आफन्तले शरीरमा चोटपटक देखिएको र बेहोस अवस्थामा फेला परेको भन्दै कुटपिटको आशंका व्यक्त गरेका छन्। यद्यपि आरोपित पक्षले कुकुर हेरेर फर्कने क्रममा लडेर घाइते भएको दाबी गर्दै कुटपिटको आरोप अस्वीकार गरेको छ।
घटनापछि चौधरीलाई अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। हाल शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। पोस्टमार्टम रिपोर्टपछि घटनाको वास्तविकता खुल्ने अपेक्षा गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीका अनुसार श्रेष्ठलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ भने पीडित परिवार किटानी जाहेरी दिने तयारीमा छ।
मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका चौधरीको मृत्युले परिवारमा शोक र आर्थिक संकट थपिएको छ। सामान्य विवादबाट सुरु भएको यो घटना अहिले समाजमा हिंसा र सहअस्तित्वबारे गम्भीर प्रश्न उठाउने विषय बनेको छ।





