एसइईको नतिजा बैशाख २८ मा प्रकाशन हुने

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा २८ वैशाखमा सार्वजनिक हुने भएको छ । आइतबार परीक्षा सकिएकोमा उत्तरपुस्तिका परीक्षण पनि सकिएको छ । एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने सरकारको नीतिअनुसार परीक्षा भएकै दिन सम्बन्धित विषयको कापी परीक्षा केन्द्रहरूमै जाँचिएको थियो ।

विगतमा परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण केन्द्रमा पु-याउनै एक साता लाग्थ्यो । त्यसपछि परीक्षणसहित सम्पूर्ण प्रक्रिया सकेर नतिजा सार्वजनिक गर्न तीन महिना लाग्थ्यो । तर, यसपटक नयाँ कार्यविधि बनाएर ‘फास्ट ट्र्याक’मा काम गरिएको हो । ‘विगत वर्षहरूमा उत्तरपुस्तिका परीक्षणमा एक महिना लाग्थ्यो, तर यसपटक परीक्षा सकिएको करिब–करिब तीन घण्टामै परीक्षण सम्भव भयो,’ राष्ट्रिय परीक्षा बोर्डका डेपुटी कन्ट्रोलर विष्णुप्रसाद ज्ञवालीले भने, ‘जहाँ–जहाँ परीक्षा भयो, त्यहीँ परीक्षण भयो । अब २८ वैशाखमा नतिजा प्रकाशन गर्ने गरी तयारीमा लागेका छौँ ।’

Navadurga sun

शिक्षामन्त्री सस्मित पोखरेलले विगतको ढिलासुस्ती अन्त्य गर्न परीक्षाकै दिन उत्तरपुस्तिका परीक्षण गर्न बोर्डलाई निर्देशन दिएका थिए । मन्त्रालयको निर्देशनअनुसार काम गर्न बोर्डले नयाँ कार्यविधि बनाएको थियो । उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनसम्बन्धी कार्यविधि मन्त्रालयले १७ चैतमा स्वीकृत गरेको थियो । सुदूरपश्चिम, कर्णाली र अन्य प्रदेशका पनि हिमाली जिल्लाबाट उत्तरपुस्तिका बोर्डमा ल्याउन समय लाग्ने भएकाले यसका लागि बोर्डले ५ वैशाखसम्मको समय दिएको छ ।

उपत्यका र उपत्यकानजिकका जिल्लाबाट भने सोमबारदेखि नै उत्तरपुस्तिका र मार्कस्लिप बोर्डमा आइसक्ने डेपुटी कन्ट्रोलर ज्ञवालीले बताए । शिक्षा विकास तथा समन्वय इकाइ र प्रहरीको समन्वयमा उत्तरपुस्तिका र मार्कस्लिप बोर्डमा ल्याइनेछ । त्यसपछि २० वैशाखसम्म सबै विवरण सिस्टममा अद्यावधिक गरिने बोर्डले जनाएको छ । अद्यावधिकपछि प्राविधिक रुजु र प्रमाणीकरण हुनेछ । यी सबै काम सकेपछि बोर्ड बैठक बसेर २८ वैशाखमा नतिजा प्रकाशन गरिने ज्ञवालीले जानकारी दिए ।

विगतमा बोर्डले नतिजा प्रकाशन गर्ने मिति नतोक्ता विद्यार्थी अलमलमा पर्थे भने सिस्टममा समस्या आउँदा नतिजा हेर्न हैरानी व्यहोर्नुपथ्यो । बोर्डले भोलिपल्ट मात्रै आफ्नो वेबसाइटमा राख्थ्यो । यसपटक नतिजा सार्वजनिक भएलगत्तै बोर्डको साइटमा विद्यार्थीको विवरणसहितको नतिजा प्रकाशन गर्ने तयारी पनि गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...