अत्तरिया- कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ले आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्ने तयारी गरेको छ। यसका लागि विश्वविद्यालयले आवश्यक शैक्षिक जनशक्ति पदपूर्ति प्रक्रिया अघि बढाउनुका साथै चिकित्सा शिक्षा आयोग सँग अनुमति मागेको जनाएको छ।


विश्वविद्यालयका रजिस्ट्रार डा. खेमराज जोशीका अनुसार एमबिबिएस, बिएस्सी नर्सिङ, बिएस्सी एमएलटी र बी अप्टोमेट्री कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ। जनशक्ति व्यवस्थापनका लागि २६ जना प्राध्यापक र ५१ जना उपप्राध्यापक पदका लागि दरखास्त आह्वान भइसकेको छ भने आगामी महिनादेखि छनोट प्रक्रिया सुरु हुने बताइएको छ।



हाल गेटामा सञ्चालनमा रहेको ५० शैयाको अस्पताललाई स्तरोन्नति गरी ३०० शैयाको शिक्षण अस्पताल बनाउने प्रस्ताव अघि सारिएको छ। यसअन्तर्गत फिजियोलोजी, प्याथोलोजी, इएनटी, जनरल सर्जरी, एनेस्थेसियोलोजी, इन्टरनल मेडिसिन, अप्थाल्मोलोजी, मेडिकल एजुकेसन तथा फार्माकोलोजी लगायत विषयमा जनशक्ति भर्ना प्रक्रिया अघि बढाइएको छ।
अस्पताल तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि विश्वविद्यालयले आगामी आर्थिक वर्षका लागि २ अर्ब ५८ करोड रुपैयाँ बजेट माग गरेको छ। उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हुँदै अर्थ मन्त्रालय मा पुगेको जनाइएको छ।
यसैबीच, सुदूरपश्चिमबाट निर्वाचित सांसदहरूले विश्वविद्यालय सञ्चालनको माग गर्दै प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग छलफल गरेका छन्। छलफलमा प्रधानमन्त्रीले गेटा विश्वविद्यालयलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।





