लक्ष्मी भट्ट/अत्तरिया- कैलालीको अत्तरिया स्थित प्रतिभा पुस्तकालयमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम २०८२ साल चैत २३ गते सम्पन्न भएको छ।



कार्यक्रम महिला लघुवित्त केन्द्रमा आबद्ध सदस्य गौरी पन्तको अध्यक्षतामा सञ्चालन भएको थियो। प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश, धनगढी कैलालीका प्रदेश प्रमुख प्रकाशबहादुर चन्दको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिमा धनगढी शाखा प्रमुख जीवनकुमार चौधरी सहभागी थिए। साथै केन्द्रमा आबद्ध विभिन्न केन्द्र प्रमुख सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।


कार्यक्रमको सञ्चालन अत्तरिया शाखाका कर्मचारी निराजन बडुले गरेका थिए भने अत्तरिया शाखा प्रमुख चन्द्रबहादुर बोहराले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा वित्तीय सचेतना तथा साक्षरता सम्बन्धी विषयमा विस्तृत जानकारी दिइएको थियो। सहभागीहरूलाई आर्थिक कारोबारलाई योजनाबद्ध रूपमा बजेट बनाएर सञ्चालन गर्नुपर्ने, बचतको महत्व, कर्जाको सदुपयोग गर्दा हुने फाइदा तथा बेफाइदा, र लघुवित्तबाट गरिने कारोबारका सकारात्मक पक्षहरूबारे जानकारी गराइएको थियो।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख प्रकाशबहादुर चन्दले महिला सशक्तिकरण कार्यक्रमले गरिबी न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे। उनले यस्ता कार्यक्रमले परिवार तथा समुदायको आयस्तर वृद्धि गर्न सहयोग पुर्याएको बताउँदै संस्थाले वार्षिक रूपमा वित्तीय साक्षरता कार्यक्रम तथा केन्द्र प्रमुख गोष्ठी सञ्चालन गर्दै आएको जानकारी दिए।
यस कार्यक्रमबाट प्राप्त ज्ञानलाई सहभागी महिला दिदीबहिनीहरूले आफ्नो समूहमा समेत विस्तार गर्ने अपेक्षा गरिएको छ। साथै, पहिले रोजगारीको खोजीमा रहेका महिलाहरू अहिले व्यवसायी बन्न सफल भएको उदाहरण प्रस्तुत गरिएको थियो।
कार्यक्रममा लघुवित्त सम्बन्धी विभिन्न भ्रमहरू हटाउनुपर्नेमा जोड दिइँदै सबै लघुवित्त संस्था बेफाइदाजनक नहुने स्पष्ट पारिएको थियो। कार्यक्रममा विभिन्न आठ विधामा उत्कृष्ट व्यक्तिहरूलाई प्रमाणपत्रद्वारा सम्मान समेत गरिएको थियो।




