मौरीपालनबाट वार्षिक २५ लाख आम्दानी गर्दै बसन्तपुरका कृषक

लक्ष्मी भट्ट/अत्तरिया, १ चैत- कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ बसन्तपुरका कृषक लक्ष्मण कार्की र उमानन्द आचार्यले संयुक्त रूपमा करिब दुई वर्षदेखि मौरीपालन व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनीहरूले हाल करिब १५० घार मौरी पालन गरिरहेका छन् ।

कृषक लक्ष्मण कार्कीका अनुसार मौरीपालनबाट राम्रो आम्दानी हुन थालेपछि आफूहरू सन्तुष्ट छन् । उनले देशमा सबैले मिलेर कृषि क्रान्ति गर्नुपर्ने आवश्यकता रहेको बताए । कार्कीका अनुसार सरकारले वा कृषि ज्ञान केन्द्रले ७ घार र रेडक्रसले ५ घार मौरी अनुदान स्वरूप उपलब्ध गराएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनका अनुसार एक गोला मौरीबाट करिब १० किलो मह उत्पादन हुन्छ । वार्षिक रूपमा सबै खर्च कटाएर करिब २५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए । मौरीपालन गर्दा मौरीलाई राम्रो फूल भएको ठाउँमा चरनमा लैजानुपर्ने पनि उनले जानकारी दिए ।

महको बजार मूल्य पनि फूलको आधारमा फरक हुने गर्दछ । हाल महको औसत मूल्य प्रतिकिलो करिब ८०० रुपैयाँ रहेको छ । जसमध्ये सबैभन्दा महँगो रुदिलोको मह प्रतिकिलो १२०० रुपैयाँ र सबैभन्दा सस्तो तोरीको मह प्रतिकिलो ६०० रुपैयाँमा बिक्री हुने गरेको उनले बताए ।

यस व्यवसायमा धेरै कामदार आवश्यक नपरे पनि महको चाका काट्ने समयमा करिब १० जना जति कामदार चाहिने उनले बताए । कृषक कार्कीले देशमा कृषि क्रान्ति भएमा युवाहरू विदेश जानुपर्ने समस्या पनि धेरै हदसम्म समाधान हुने विश्वास व्यक्त गरे ।

 

Loading...