धनगढीको मोडर्न एरा इङ्गलिस बोर्डिङ हाइ स्कूलको ३२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

धनगढी- धनगढीस्थित मोडर्न एरा इङ्गलिस बोर्डिङ हाइ स्कूलको ३२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ। धनगढी उपमहानगरपालिका–८ सेतोपुलमा अवस्थित विद्यालयले वार्षिकोत्सवको अवसरमा शैक्षिक, सांस्कृतिक तथा अतिरिक्त क्रियाकलाप समेटेर कार्यक्रम आयोजना गरेको हो। कार्यक्रम धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष जुगराम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

Ganyapdhura gau

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले शिक्षाको गुणस्तर कायम राख्न निजी विद्यालयहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। उनले विद्यार्थीको राम्रो शिक्षा र भविष्य निर्माणमा विद्यालयसँगै अभिभावक पनि उत्तिकै जिम्मेवार बन्नुपर्ने बताए। अभिभावकको सक्रिय सहभागिता बिना शिक्षाको गुणस्तर सुदृढ हुन नसक्ने उनको भनाइ थियो।

Navadurga sun
Dadhaldhura pur

कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका पूर्व अध्यक्ष हिमालय जोशीले समाजमा विद्यार्थीको क्षमता केवल ‘ए प्लस’ जस्ता ग्रेडबाट मात्र मापन गर्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई बदल्न आवश्यक रहेको बताए। उनका अनुसार विद्यार्थीको मूल्याङ्कन केवल प्रमाणपत्रमा सीमित नभई उनीहरूको समग्र व्यक्तित्व विकासलाई आधार मानेर हुनुपर्छ। उनले धनगढीको शैक्षिक क्षेत्रमा मोडर्न एरा विद्यालयले पुर्‍याएको योगदानको प्रशंसा समेत गरे। त्यस्तै धनगढी प्याब्सनका अध्यक्ष धुर्व बहादुर सिंहले नयाँ व्यवस्थापनपछि विद्यालयले छोटो समयमै राम्रो उपलब्धि हासिल गरेको उल्लेख गर्दै विद्यालयको प्रगतिको सराहना गरे। उनले विद्यार्थीको समग्र विकासका लागि विद्यालयसँगै अभिभावकको पनि सक्रिय भूमिका आवश्यक रहने बताए।

कार्यक्रममा विद्यार्थी प्रतिनिधिका रूपमा आयुष्मा जोशी र मानवी भट्टले पनि आफ्ना धारणा राख्दै विद्यालयले प्रदान गरिरहेको शैक्षिक वातावरण र अवसरहरूको प्रशंसा गरेका थिए। वि.सं. २०५१ सालमा स्थापना भएको मोडर्न एरा इङ्गलिस बोर्डिङ हाइ स्कूल धनगढीका पुराना विद्यालयहरूमध्ये एक मानिन्छ। हाल विद्यालयमा नर्सरी (पिजि) देखि कक्षा १० सम्म करिब सात सय विद्यार्थी अध्ययनरत रहेका छन्। विद्यालयका प्रिन्सिपल भुपेन्द्र कटुवालले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। साथै अभिभावकहरूको मागलाई मध्यनजर गर्दै विद्यालयमा छात्रावास सेवा समेत सञ्चालनमा ल्याइएको उनले बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेशबहादुर सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिरिक्त क्रियाकलाप अन्तर्गत भलिबल, हाजिरजवाफ लगायतका प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा सांगितिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए।  वार्षिकोत्सव कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउनुका साथै विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...