अत्तरिया- कैलाली क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हरिराम चौधरी ‘उत्सव’ ले निर्वाचन लक्षित घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।



उनले निर्वाचन क्षेत्रका विभिन्न टोल–बस्तीमा पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय समस्या बुझ्ने र आफ्ना प्रतिबद्धता प्रस्तुत गर्ने कार्यलाई निरन्तरता दिएका छन्।


चौधरीले विकास निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। साथै मुक्त कमैया, भूमिहीन सुकुम्बासी लगायतका समस्याको समाधानका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ छ।

विकट ग्रामीण बस्तीहरूमा खानेपानी, सिँचाइँ र सडकजस्ता आधारभूत समस्याहरू रहेको उल्लेख गर्दै उनले निर्वाचित भएपछि ती समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्ने बताए।
त्यस्तै उनले गोदावरी क्षेत्रलाई व्यवस्थित सहरका रूपमा विकास गर्ने तथा गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्णरूपमा सञ्चालन गरी अस्पताल सेवा विस्तारसँगै एमबीबीएस पढाइ सुरु गर्न पहल गर्ने बताए।
विगतमा निर्वाचित प्रतिनिधिहरू जनतामाझ नफर्कने गुनासो रहेको उल्लेख गर्दै उनले आफू निर्वाचित भए जनताकै सुझाव–सल्लाहका आधारमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
देशमा व्याप्त भ्रष्टाचार अन्त्य, सुशासन स्थापना र आर्थिक समृद्धिका लागि स्थायी सरकार आवश्यक रहेको उनको भनाइ छ। घरदैलोका क्रममा जनताबाट अपार माया र समर्थन पाइरहेको दाबी गर्दै उनले निर्वाचनमा जनताको साथ प्राप्त हुने विश्वास व्यक्त गरे।




