कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका–४ की आयशा चौधरीले विश्वप्रसिद्ध प्रविधि कम्पनी Google मा सफ्टवेयर इन्जिनियरका रूपमा पूर्णकालीन जागिर पाएकी छन् । उनको यस उपलब्धिपछि देशभर चौतर्फी प्रशंसा भइरहेको छ भने विभिन्न विद्यालय तथा सामाजिक सञ्जालमा पनि उनको सफलताको चर्चा चुलिएको छ ।



हाल भारतको हिमाञ्चलस्थित Chitkara University मा कम्प्युटर साइन्स इन्जिनियरिङ अध्ययनरत आयशाले इन्टर्नसिपपछि पूर्णकालीन जागिर पाएकी हुन् । उनले कलेजको दोस्रो वर्षदेखि नै गुगलमा इन्टर्नसिपका लागि निरन्तर प्रयास गर्दै तेस्रो वर्षमा अवसर पाएकी थिइन् । इन्टर्नसिप सफलतापूर्वक सम्पन्न गरेपछि उनलाई पूर्णकालीन अफर प्राप्त भएको हो ।



आयशाका अनुसार उनले कक्षा ८ मै सूचना प्रविधि क्षेत्रमा काम गर्ने सपना देखेकी थिइन् । प्लस टु अध्ययनका क्रममा उक्त सपना थप बलियो बनेको र त्यही लक्ष्यअनुसार योजना बनाएर मेहनत गर्दा आज सफलता हात परेको उनले बताइन् ।
उनले आफ्नो सफलताको श्रेय दाइ सौरभ, आमाबुवा, शिक्षक तथा साथीभाइलाई दिएकी छन् । दाइ सौरभ स्वयं आईटी क्षेत्रमा कार्यरत रहेकाले आफूलाई प्रेरणा मिलेको उनले उल्लेख गरिन् ।
आयशाले बेलौरीकै विद्यालयबाट कक्षा १० सम्म अध्ययन गरी काठमाडौँको केआइएसटी कलेज बाट प्लस टु पूरा गरेकी थिइन् । स्नातक अध्ययन सम्पन्न भएपछि औपचारिक रूपमा कम्पनीमा आबद्ध हुने उनको योजना रहेको छ ।




