अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१ अनामनगर स्थित घण्टेश्वर/पिनाकेश्वर देवताको नवनिर्मित मन्दिरमा विधिपूर्वक प्राणप्रतिष्ठा तथा वार्षिक जात्रा सम्पन्न भएको छ। बुधबार रुद्रीपाठ, विशेष पूजाआजा र धार्मिक अनुष्ठानसहित मन्दिरको औपचारिक शुभारम्भ गरिएको हो।




देवताका मुखिया भीम बहादुर मडै ले स्थानीय श्रद्धालु तथा घण्टेश्वर देवता मान्ने समुदायको सक्रिय सहभागितामा मन्दिर निर्माण सम्पन्न भएको बताए। उनका अनुसार निर्माणमा करिब ५६ लाख रुपैयाँ खर्च भएको छ। यसमध्ये प्रदेश सरकार, नगरपालिका र वडा नं. १ बाट २३ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ भने करिब १० लाख रुपैयाँ चन्दा संकलन गरिएको छ। चन्दा अभियान अझै जारी रहेको उनले जानकारी दिए। मन्दिर निर्माणमा प्रयोग भएका काठ सामुदायिक वनबाट सहयोगस्वरूप उपलब्ध गराइएको जनाइएको छ।


डोटीको जोरायल स्थित मूल थानसँग आस्था जोडिएको यस स्थानमा पुर्खाले बास बसेको स्थलमै मन्दिर निर्माण गरिएको बताइएको छ। प्रत्येक वर्ष शुक्ल अष्टमीका दिन यहाँ घण्टेश्वर देवताको जात्रा मनाइने परम्परा छ।
कार्यक्रम घण्टेश्वर/पिनाकेश्वर देवता धार्मिक तथा पर्यटन विकास समिति ले आयोजना गरेको थियो।




