धनगढी- कैलालीको अत्तरियास्थित गोदावरी आविष्कार केन्द्रलाई एक थान ल्यापटप सहयोग गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार बनेका छत्रबहादुर भट्टले केन्द्रलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।



ल्यापटप प्राप्त गरेपछि केन्द्रका इन्जिनियर किरण भट्टले सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूलाई सीप सिक्न, नवप्रवर्तन गर्न तथा अनुसन्धानमा अघि बढ्न महत्वपूर्ण सहयोग पुग्ने बताए । उनका अनुसार केन्द्रले स्टिम शिक्षा, नवप्रवर्तन र सीप विकासका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।


ल्यापटप हस्तान्तरण कार्यक्रममा उम्मेदवार भट्टले घरदैलो अभियानका क्रममा केन्द्रमा आवश्यकताको जानकारी पाएपछि सहयोग गरेको बताए । आविष्कार केन्द्रले विद्यार्थीलाई फरक ढङ्गले सोच्न र सीपमार्फत आत्मनिर्भर बन्न प्रेरित गरिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।





