सुदूरपश्चिम प्रदेशमा डेङ्गुको जोखिम अझै चुनौतीपूर्ण

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ। स्वास्थ्य निर्देशनालय दिपायलको पछिल्लो तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ हजार ६ सय ८३ पुगेको छ। स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार अघिल्ला वर्षहरूको तुलनामा सङ्क्रमणको ग्राफमा केही उतारचढाव देखिए पनि जोखिम भने अझै टर्न सकेको छैन।

Dadeldhura hospital

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा ३ हजार ३ सय ४९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो। आव २०८१/८२ मा यो सङ्ख्यामा सामान्य कमी आएर ३ हजार ३ सय १६ पुगे पनि जोखिम कायमै रह्यो। चालु आर्थिक वर्षको हालसम्म मात्रै प्रदेशमा १ हजार १८ जना डेङ्गुबाट प्रभावित भइसकेका छन्। अधिकृत जोशीका अनुसार विशेषगरी तराईका जिल्लाहरूमा यसको प्रभाव बढी देखिएको छ।

Navadurga sun
Godawari sandesh

निर्देशनालयका अनुसार प्रदेशका कैलाली र कञ्चनपुर डेङ्गुबाट सबैभन्दा बढी प्रभावित जिल्ला हुन्। पछिल्लो समय जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण तराईमा मात्र नभई पहाडी जिल्लाहरूमा समेत डेङ्गुका बिरामी फेला पर्न थालेका छन्। यो रोग ‘एडिस एजिप्टी’ जातको लामखुट्टेको टोकाइबाट सर्ने भएकाले यसको नियन्त्रणका लागि व्यक्तिगत सतर्कता र सचेतना नै मुख्य उपाय भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

डेङ्गु नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय तहले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिँदै आएका छन्। यद्यपि नागरिकस्तरबाट घर वरपर पानी जम्न नदिने र व्यक्तिगत सुरक्षाका उपाय अपनाउनमा कमी आउँदा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन। निर्देशनालयले ज्वरो आउने, जोर्नी दुख्ने र टाउको दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन सबैमा आग्रह गरेको छ । रासस

Loading...