

काठमाडौँ- चुनाव स्थगित गरेर राजनीतिक सहमति गर्नुपर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको प्रस्तावलाई राप्रपाले समर्थन गरेको छ ।


मंगलबार प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी गर्नुभएको भिडियोमार्फत पूर्वराजाले मुलुकको वर्तमान संकट समाधान नगरी चुनावमा जानुको सार्थकता नहुने उल्लेख गर्दै चुनाव स्थगित गर्न आह्वान गरेका थिए ।



बिहीबार बसेको राप्रपाको आकस्मिक केन्द्रीय समिति बैठकले समथर्न गरेको छ ।
प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पूर्वराजाबाट व्यक्त भएका विचारहरू राष्ट्रिय हित र स्थिरताका लागि मननयोग्य छन् । मुलुकमा व्याप्त चरम भ्रष्टाचार, अस्थिरता र वैदेशिक हस्तक्षेपका कारण आम जनतामा चरम निराशा छाएको यस घडीमा सबै पक्षबीच बृहत्तर राष्ट्रिय समझदारी अपरिहार्य छ ।’
उता सरकारले भने निर्वाचनको तयारी तीव्र पारिएको र तोकिएकै समयमा मतदान हुने दाबी गर्दै आएको छ ।

