धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पुनर्लेखन गरेर प्रदेशसभाबाट पारित गर्ने तयारी गरेको छ। प्रदेशसभामा विचाराधीन अवस्थामा रहेको बजेटलाई आवश्यक सुधारसहित पुनर्लेखन गरी पारित गर्ने सरकारको योजना रहेको हो।
मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा बजेट पुनर्लेखन गरिने जानकारी दिएका हुन्। उनले बजेट पुनर्लेखनको कामलाई तीव्रता दिन केही चाडपर्वका दिनबाहेक अन्य सार्वजनिक बिदाका दिनमा समेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय खुला राखेर काम अघि बढाइने बताए।

मुख्यमन्त्री भट्टले जनअपेक्षाअनुसार बजेट पुनर्लेखन गरी तत्काल पारित र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। बजेट कार्यान्वयनका लागि समय सीमित रहेकाले पुनर्लेखन, पारित र कार्यान्वयनको प्रक्रियालाई तीव्रता दिनुपर्ने उनको भनाइ छ।
उनका अनुसार पुनर्लेखित बजेटमा सुदूरपश्चिमका पहाड, हिमाल र तराईलाई समानुपातिक, सन्तुलित र समावेशी ढंगले समेटिनेछ। भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, आर्थिक तथा सामाजिक विकास र मानव विकासलाई समेत प्राथमिकता दिइने उनले बताए।
अघिल्लो सरकारले ल्याएको बजेटमा रहेका राम्रा कार्यक्रमलाई निरन्तरता दिइने र आवश्यकताअनुसार सुधार गरिने मुख्यमन्त्री भट्टले स्पष्ट पारे। बजेट पूर्ण रूपमा नयाँ नभई खराब तथा अनुपयुक्त कार्यक्रमलाई छलफलमार्फत हटाउने वा सुधार गर्ने र उपयोगी कार्यक्रमलाई पुनर्लेखनमा समेट्ने उनको भनाइ छ।
निवर्तमान आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले आफूले विनियोजन गरेका बजेट तथा कार्यक्रम कटौती हुने आशंका व्यक्त गरेपछि मुख्यमन्त्री भट्टले सबै क्षेत्र र वर्गलाई समेटेर बजेट ल्याइने बताएका छन्।
बजेट लामो समयदेखि पारित हुन नसक्दा प्रदेश सरकारका विभिन्न योजना तथा कार्यक्रम प्रभावित हुँदै आएका छन्। सरकारले पुनर्लेखित बजेट प्रदेशसभाबाट पारित गराई बाँकी अवधिमा योजना तथा कार्यक्रमको कार्यान्वयनलाई तीव्रता दिने लक्ष्य लिएको छ।
