अत्तरिया- फागुन २१ गते हुने चुनावलाई लक्षित गर्दै अत्तरिया बसपार्कमा सुरक्षा कडा पारिएको छ । नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश तथा इलाका प्रहरी कार्यालय मालाखेतीले तालिमप्राप्त कुकुर प्रयोग गरी बसहरूको दोस्रो पटक सघन स्किनिङ गरेको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्दका अनुसार यस अभियानको उद्देश्य विस्फोटक पदार्थ तथा लागुऔषध ओसारपसार रोक्नु र शान्तिपूर्ण चुनाव सुनिश्चित गर्नु हो ।

हप्तामा कम्तीमा एक दिन, जुनसुकै समयमा पनि निरन्तर सञ्चालन गरिने यो अभियानमा आज एक दर्जनभन्दा बढी सवारी साधन जाँच भए पनि कुनै पनि विस्फोटक वा लागुऔषधजन्य सामग्री फेला परेन । प्रहरीका अनुसार चुनाव नजिकिँदै जाँदा सुरक्षा सतर्कता अझ प्रभावकारी बनाइनेछ ।
