कैलाली–५: प्रेमबहादुर आलेको २० बुँदे विकास प्रतिबद्धता सार्वजनिक

धनगढी- कैलाली–५ मा उम्मेदवार रहेका प्रेमबहादुर आले ले धनगढीको समग्र विकासका लागि २० बुँदे महत्वाकांक्षी प्रतिबद्धता सार्वजनिक गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बनेका आलेले शनिबार धनगढीस्थित पार्टी कार्यालयमा योजना सार्वजनिक गर्दै दीर्घकालीन पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीका कार्यक्रमलाई प्राथमिकता दिएका छन्।

उनले धनगढीको फाप्ला क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउँदै धनगढीलाई ‘क्रिकेट हब’ बनाउने लक्ष्य प्रस्तुत गरे। त्यस्तै, धनगढी विमानस्थलको धावनमार्ग २५०० मिटरमा विस्तार गरी ठूला जहाज अवतरण गर्न सक्ने बनाउने योजना अघि सारे। आफू मन्त्री हुँदा विमानस्थल विस्तारका लागि दुई अर्ब पाँच करोड रुपैयाँ व्यवस्थापन भए पनि पछि बजेट रकमान्तर हुँदा योजना रोकिएको उनले बताए।

godawari10 Mahila hinsa
Navadurga sun

स्वास्थ्य क्षेत्रमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत ३०० देखि ६०० शैय्याको अस्पताल सञ्चालनमा ल्याई एमबिबिएस लगायत शैक्षिक कार्यक्रम सुरु गर्ने तथा सेती प्रादेशिक अस्पताललाई संघीय सरकार मातहत सञ्चालन गरी विशिष्टिकृत सेवा विस्तार गर्ने योजना उनले प्रस्तुत गरे। सिकलसेल बिरामीका लागि छुट्टै वार्ड स्थापना गर्ने प्रतिबद्धता पनि गरिएको छ।

Dadeldhura hospital

पूर्वाधारतर्फ धनगढी–खुटिया–दिपायल–बझाङ–चैनपुर हुँदै उरै जोड्ने छोटो दूरीको सडक शीघ्र सम्पन्न गर्ने, नदी कटान तथा डुबान नियन्त्रणका लागि मोहना, खुटिया, घुरही, घुराहा र शिवगंगा नदी किनारमा हरियालीसहित तटबन्ध निर्माण गर्ने योजना सार्वजनिक गरिएको छ। विभिन्न स्थानमा पक्की पुल निर्माण, ग्रामीण सडक स्तरोन्नति र धनगढी–३ मा प्रादेशिक बसपार्क निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ।

पर्यटन प्रवर्द्धनअन्तर्गत धनगढी–७ को वनस्पति उद्यान र जाखोर ताललाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उल्लेख छ। भूमिहीन, सुकुम्बासी, मुक्तकमैया तथा लालपुर्जा नपाएकालाई लालपुर्जा वितरण, सुरक्षित आवास कार्यक्रम लागू तथा आधारभूत पूर्वाधारको पहुँच सुनिश्चित गरिने उनले बताए।

कृषि क्षेत्रमा आधुनिक प्रविधि विस्तार, सिँचाइ व्यवस्थापन र मल–बीउको सहज उपलब्धता सुनिश्चित गर्ने, महिला, दलित, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्ने र थारू लगायत स्थानीय समुदायको भाषा–संस्कृति संरक्षणका लागि सांस्कृतिक संग्रहालय निर्माणमा पहल गरिने प्रतिबद्धता पनि गरिएको छ।

उद्योग, व्यापार र रोजगारी अभिवृद्धिका लागि साना तथा मध्यम उद्योग प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजार सुनिश्चितता गर्ने, धनगढी चटकपुरस्थित नेपाल आयल निगमको डिपोलाई जोखिमयुक्त बस्तीबाट सुरक्षित स्थानमा सार्न पहल गरिने योजना उनले सार्वजनिक गरे।

अघिल्ला तीन निर्वाचनमा डोटीबाट विजयी भएका आलेले यसपटक कैलाली–५ बाट उम्मेदवारी दिँदै धनगढीको विकासका लागि आफ्नो आवश्यकता रहेको दाबी गरेका छन्।

Loading...