

बैतडी- आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै बैतडी जिल्लामा मतदानस्थल निरीक्षण कार्य तीव्र पारिएको छ। जिल्ला सुरक्षा समितिको तर्फबाट मतदानस्थलको निरीक्षण भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए।


सुरक्षाको दृष्टिकोणले बैतडीका १२९ मतदानस्थलमध्ये ३३ वटा अतिसंवेदनशील सूचीमा परेका छन्। यस्तै २८ वटा मतदानस्थल संवेदनशील र ६८ वटा मतदानस्थल सामान्य सूचीमा रहेका छन्। अतिसंवेदनशील मतदानस्थललाई प्राथमिकतामा राखी अनुगमन तथा निरीक्षण कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए।



निरीक्षणका क्रममा मतदानस्थलको अवस्था, सुरक्षाको व्यवस्थापन, भौतिक पूर्वाधारको अवलोकन गर्नुका साथै स्थानीय जनप्रतिनिधि, नागरिक अगुवा लगायतसँग छलफल गर्ने गरिएको जनाइएको छ। साथै निर्वाचनका बेला खटिने कर्मचारीहरूको आवास सुविधा, बिजुलीबत्ती, खानेपानीलगायत आधारभूत सुविधाको उपलब्धता सम्बन्धी विषयमा समेत निरीक्षण भइरहेको छ।
कतिपय मतदानस्थल तथा केन्द्रहरूमा सिसीटीभी क्यामेराको व्यवस्था आवश्यक देखिएकाले त्यसको व्यवस्थापनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए। हालसम्म २० भन्दा बढी मतदानस्थलको निरीक्षण सम्पन्न भइसकेको जिल्ला सुरक्षा समितिले जनाएको छ।
बैतडी जिल्लामा कुल १२९ मतदानस्थल रहेका छन् भने २१४ मतदान केन्द्र कायम गरिएको छ। जिल्लामा १ लाख ५६ हजार ३७२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।





