स्थान अभावले सेती प्रादेशिक अस्पतालको १० तले भवन योजना अलपत्र

३० करोड बजेट फिर्ता, पुराना संरचना सार्न नसक्दा निर्माण ठप्प

धनगढी- सेती प्रादेशिक अस्पतालमा स्थान अभावका कारण प्रस्तावित आधुनिक १० तले भवन निर्माण योजना अलपत्र परेको छ। अस्पतालको प्रसूति तथा बाल स्वास्थ्य सेवा सञ्चालन भइरहेको पुरानो भवनको क्षेत्रमा नयाँ भवन निर्माण गर्ने योजना भए पनि वैकल्पिक स्थानको व्यवस्था हुन नसक्दा काम अघि बढ्न सकेको छैन।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाईमार्फत निर्माणाधीन भवनको काम समयमै पूरा नहुँदा सेती अस्पतालको नयाँ भवन निर्माण रोकिएको हो। स्थान अभावकै कारण गत आर्थिक वर्षमा संघीय र प्रदेश सरकारबाट विनियोजित ३० करोड रुपैयाँ बजेट फिर्ता गएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

godawari10 Mahila hinsa
Navadurga sun

मन्त्रालयअन्तर्गत अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख चेतराज जोशीका अनुसार संघीय सरकारको १५ करोड अनुदान र सुदूरपश्चिम प्रदेश सरकारको १५ करोड रुपैयाँ बजेट उपयोग हुन सकेन।
‘१० तले भवनका लागि डिपीआर तयार थियो। दुई तलाको पार्किङसहितको योजना थियो। तर सहरी विकासको भवन निर्माण पूरा नभएकाले पुराना सेवा सार्न ठाउँ भएन,’ उनले भने।

नेपाल सरकारको अनुदानमा प्रदेश सरकारले विस्तृत योजना प्रतिवेदन (डिपीआर) स्वीकृत गरिसकेको थियो। प्रदेश सरकारले पनि भवन निर्माणका लागि बजेट विनियोजन गरे पनि स्थान अभाव देखाउँदै सामाजिक विकास मन्त्रालयले ठेक्का सम्झौता नै गरेन।

Dadeldhura hospital

हाल सेती अस्पतालको पुरानो टिनको छाना भएको भवनमा प्रसूति, खोप, क्यान्सर उपचार, चमेनागृह, चिकित्सक संघ, सरसफाइ शाखा, प्रसूति शल्यक्रिया कक्ष, १० शय्याको सघन उपचार कक्ष (आईसीयू), कुष्ठरोग, फिजियोथेरापी, फोहोर व्यवस्थापन संरचना तथा शवगृहलगायतका सेवा सञ्चालन भइरहेका छन्। ती सेवा सार्ने वैकल्पिक संरचना नहुँदा पुरानो भवन भत्काउन नसकिएको अस्पताल प्रशासनको भनाइ छ।

सेती अस्पताल व्यवस्थापन अधिकृत वेदप्रकाश जोशीका अनुसार प्रशासनिक भवनको पश्चिमतर्फ सहरी विकासमार्फत निर्माणाधीन भवन पूरा नभएकाले समस्या जटिल बनेको हो।
‘सुदूरपश्चिमका बिरामीहरू यही आउने हुन्। सहरी विकासको भवनमा सेवा सारेर प्रसूति सेवा रहेको पुरानो भवन भत्काउने र त्यही ठाउँमा नयाँ १० तले भवन बनाउने योजना थियो,’ उनले भने।

अस्पतालको पूर्वी क्षेत्रमा रहेका पुराना संरचना हटाएर दुई तलाको पार्किङसहित १० तले भवन निर्माण गर्ने योजना पनि कार्यान्वयनमा जान सकेको छैन। कोरोना अस्पताल तथा सहरी विकासले निर्माण थालेका संरचनामा सेवा सारेर नयाँ भवनको काम सुरु गर्ने योजना पनि अलपत्र परेको छ।

स्थानीयवासीको गुनासो छ—निर्वाचनको समयमा मात्र सेती अस्पताल सुधारका विषय उठ्ने गरेका छन्, तर नियमित समयमा भौतिक पूर्वाधार सुधारप्रति बेवास्ता हुने गरेको छ।

सेती अस्पतालका कतिपय संरचना वि.सं. १९९७ मा जिल्ला अस्पतालका रूपमा निर्माण गरिएका टिनले छाएका भवनहरू हुन्। वि.सं. २०४० मा कैलाली जिल्ला अस्पताललाई ५० शय्याको सेती अञ्चल अस्पतालमा स्तरोन्नति गरिएको थियो। पछि व्यवस्थापन समितिले ७५ शय्या थप गरी हाल अस्पताललाई १२५ शय्यामा सञ्चालन गरिएको छ।

Loading...