


लक्ष्मी भट्ट/अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा छाडा चौपाया समस्या यथावत रहँदा किसान र व्यापारीहरू दैनिक रूपमा समस्यामा परिरहेका छन् । गाउँघर, सडक, खेतबारी र व्यवसायिक क्षेत्रहरूमा छाडा चौपाया बिनाअनुशासन घुमिरहेका छन् । फलफूल, तरकारी र खाद्यान्न नष्ट भएपछि किसान र व्यापारीहरूमा चिन्ता बढेको छ ।


नगरपालिकाले लालपुर क्षेत्रमा छाडा चौपायाको लागि गोसाला बनाएको र चौकिदार राखेको भए पनि समस्या अझै समाधान हुन सकेको छैन । किसानहरूले रातभर जाग्राम बस्न बाध्य हुनु परेको छ, जसका कारण निद्रा कमि, मानसिक तनाव र स्वास्थ्यमा असर परेको छ ।



किसानका अनुसार “कृषि कार्यबाट दुई छाक टार्न मुस्किल परेको अवस्थामा छाडा चौपायाले बाली नष्ट गरिरहेको छ । यसले हामीलाई अत्यन्तै कठिन अवस्थामा पुर्याएको छ ।”
विशेषज्ञहरू भन्छन् कि समस्या केवल प्रशासनको जिम्मेवारी मात्र नभई स्थानिय जनता, किसान र पालकको समन्वय आवश्यक छ । उनीहरूको सुझाव अनुसार, गोसालाको क्षमता बढाउने, खेतबारीमा संरचना बनाउने, सामुदायिक निगरानी समूह गठन गर्ने र पालकको जिम्मेवारी सुनिश्चित गर्ने उपाय अवलम्बन गर्नुपर्छ ।
नगरपालिकाले पनि स्थानीय जनतालाई सहकार्य गर्न आग्रह गरेको छ । यसो नगरे किसानको आर्थिक अवस्था कमजोर हुनुका साथै खाद्यान्न संकट समेत देखा पर्न सक्ने चेतावनी दिइएको छ ।





