


काठमाडौं उपत्यकासहित तराई–मधेशका जिल्लामा आज बिहान बाक्लो हुस्सु कुहिरो लागेको छ। हुस्सुका कारण दृश्यता कम हुँदा हवाई उडानमा असर परेको छ।



काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानको अवतरण आज बिहानका लागि रोकिएको छ। त्यस्तै भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी लगायतका विमानस्थलमा बिहानका उडानहरू ढिलाइ भएका छन्।


जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो परेको वर्षाका कारण वायुमण्डलमा आर्द्रता बढ्दा हुस्सु कुहिरो बनेको हो। वाष्पीकरणको क्रममा माथिल्लो वायुमण्डलको तापक्रम चिसो हुँदा पानीका साना कण जमिन नजिकै रोकिएर हुस्सु देखिएको विभागले जनाएको छ।
मौसमविद्हरूका अनुसार यो अवस्था दिउँसोदेखि क्रमशः हट्दै जाने सम्भावना छ। मौसमको अध्ययनकर्ता डा. धर्मराज उप्रेतीका अनुसार आज र भोलि बिहान पनि हुस्सु कुहिरो देखिन सक्ने सम्भावना रहेको छ।





