विदेश होइन, स्वदेशमै श्रम : बनखेतका श्यामबहादुर साउदको नर्सरी यात्रा 

लक्ष्मी भट्ट/अत्तरिया- कैलालीको गोधावरी नगरपालिका–२ बनखेतका श्यामबहादुर साउद विगत चार वर्षदेखि रियान आशा एग्रो नर्सरी सञ्चालन गर्दै आएका छन्। बनखेतस्थित शिव मन्दिर परिसर नजिकमा नर्सरी पेशामा आबद्ध साउदले विदेश जानुभन्दा स्वदेशमै केही गर्न उपयुक्त ठानेर कृषि व्यवसाय रोजेको बताए ।

“सबैभन्दा पहिले आफ्नै देशमा केही गर्नुपर्छ,” साउद भन्छन्, “विदेश जानुलाई प्राथमिकता नदिऔँ भन्ने सन्देश म सबैलाई दिन चाहन्छु ।” उनका अनुसार हालसम्म सुदूरपश्चिम प्रदेशका करिब २० हजार घरधुरीमा विभिन्न फलफूल तथा अन्य बिरुवाहरू वितरण गरिसकिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

“गुणस्तरीय बिरुवा हाम्रो प्रतिबद्धता” भन्ने नारासहित सञ्चालन भइरहेको यस नर्सरीले व्यवसायिक किसानहरूलाई प्राविधिक सल्लाहका आधारमा फलफूल खेतीमा समेत सहयोग गर्दै आएको छ । तर, उनले हालसम्म सरकारी तर्फबाट कुनै पनि अनुदान नपाएको गुनासो गरे । अनुदान प्रक्रिया झन्झटिलो, समय लाग्ने र माग्न समय नपाइने भएकाले अनुदान लिन नसकेको उनको भनाइ छ ।

Dadeldhura hospital

साउद भन्छन्, “सरकारले सबै प्रकारका किसानलाई सहज र समान रूपमा अनुदान दिनुपर्छ ।”

आफ्नो आम्दानीबारे खुलाउन नचाहे पनि उनले वर्षभरि घर खर्च चल्ने गरी आम्दानी भइरहेको बताए । “घर खर्च चलेको छ, आफ्नो योग्यताको कदर पनि भएकै छ, त्यसैले सन्तुष्ट छु,” उनले भने ।

नर्सरी व्यवसायमा आषाढ महिनामा बिरुवाको बिक्री बढी हुने गरेको साउदको अनुभव छ । हाल फलफूलका बिरुवामा राम्रो माग रहे पनि फूलका बिरुवाको संख्या कम रहेको र आगामी दिनमा फूलका प्रजाति बढाउने योजना रहेको उनले जानकारी दिए ।

सामाजिक उत्तरदायित्वलाई पनि महत्व दिँदै उनले निःशुल्क रूपमा बिरुवा वितरण गर्दै आएको बताए । “निःशुल्क वितरण गर्दा पनि म खुसी छु,” उनी भन्छन्, “यसले समाजको विकास हुन्छ ।”

श्यामबहादुर साउदको जीवन संघर्ष र सफलताबाट प्रेरणा लिँदै स्वदेशमै श्रम र सीप प्रयोग गरेर केही गर्न सकिन्छ भन्ने सन्देश स्पष्ट रूपमा देखिन्छ । सन्तुष्टि पनि आफ्नै देशमा केही गर्न सकेमै रहेको उनको अनुभव छ ।

Loading...