

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह मङ्गलवार कैलाली आउने भएका छन् । पार्टीको चुनावी कार्यक्रममा सहभागी हुन उनी कैलाली आउन लागेका हुन् ।



रास्वपा नेतृ जसुदेवी भट्टका अनुसार शाह नेपालगन्ज हुँदै मङ्गलवार बिहान ७ बजे लम्की पुग्नेछन् । लम्कीमा उनले कैलाली निर्वाचन क्षेत्र नम्बर १ र २ का उम्मेदवार, पार्टीका नेता–कार्यकर्ता तथा शुभचिन्तकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।


रास्वपाका अनुसार शाह करिब तीन दिन सुदूरपश्चिममा रहनेछन् । कैलालीमा हुने पार्टीका कार्यक्रमसँगै उनी पहाडी जिल्लाहरूको पनि भ्रमण गर्नेछन्, यद्यपि विस्तृत समयसारणी भने तय भइसकेको छैन ।
बालेननिकट स्रोतका अनुसार कैलालीपछि उनले सुदूरपश्चिमका विभिन्न जिल्लाहरूको भ्रमण गर्नेछन् । अछाम क्षेत्र नम्बर २ का उम्मेदवार भूपदेव शाहका अनुसार यो तीन दिने यात्रा निकै व्यस्त रहनेछ । धनगढीबाट सुरु हुने भ्रमण पहाडी जिल्लाहरू हुँदै अछाम पुग्ने र त्यसपछि कर्णाली प्रदेशको राजधानी सुर्खेत जाने कार्यक्रम रहेको छ ।