शिबगंगा नदीमा पक्की पुल निर्माण गर्ने दललाई मात्रै मतदान गर्ने शान्तिकटानवासीको घोषणा

धनगढी-  कैलालीको धनगढी उपमहानगरपालिका–१५ स्थित शान्तिकटान टोलका स्थानीयवासीले शिबगंगा नदीमा पक्की पुल निर्माण गर्ने प्रतिबद्धता जनाउने राजनीतिक दललाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्ने बताएका छन्।

खुटिया र शिबगंगा नदीले घेरेको टापुजस्तो भौगोलिक अवस्थामा रहेको शान्तिकटान टोललाई उर्मासँग जोड्ने बेलघाट क्षेत्रमा पक्की पुल नहुँदा वडा कार्यालयसँगको सम्पर्कमा समस्या भइरहेको स्थानीयको गुनासो छ। पुल अभावका कारण वडा नम्बर १६ र १७ का नागरिकसमेत प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

godawari10 Mahila hinsa
Navadurga sun

स्थानीयका अनुसार पक्की पुल नहुँदा धनगढी बजार जान बेली पुल हुँदै लामो दूरीको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। यसले विवाह, सामाजिक कार्यक्रम तथा बिरामीको उपचारका क्रममा समेत गम्भीर समस्या निम्त्याएको छ।

Dadeldhura hospital

स्थानीय हरिनारायण रानाले खुटिया नदीको पथरी पुलबाट धनगढी बजार पुग्न सहज भए पनि शिबगंगा नदीमा पुल नहुँदा वडा कार्यालयका सेवा लिन कठिनाइ भइरहेको बताए। उनका अनुसार एम्बुलेन्सले पाँच मिनेटको दूरी पार गर्न घण्टौँ घुम्नुपर्ने अवस्था छ।

त्यस्तै, स्थानीय अस्मिता चौधरीले विगतमा विभिन्न राजनीतिक दलले पुल निर्माणको आश्वासन दिए पनि कार्यान्वयन नभएको गुनासो गरिन्। पशुपति देवी सार्कीले पनि यस निर्वाचनमा शिबगंगा नदीमा पक्की पुल बनाउने विश्वासिलो आधार प्रस्तुत गर्ने दललाई मात्र मतदान गर्ने बताइन्। हाल रहेको झोलुङ्गे पुलले सबै आवश्यकताहरू पूरा गर्न नसक्ने उनको भनाइ छ।

वडा सदस्य मंगली सार्कीले पुलसँगै तटबन्धनको पनि तत्काल आवश्यकता रहेको बताइन्। सो टोलमा दलित समुदायका ६८ घरपरिवारसहित चौधरी समुदाय गरी करिब १६८ घरपरिवारको बसोबास रहेको छ।

वडा नम्बर–१५ का वडाध्यक्ष शुकदेव रानाले विभिन्न निकायमा पहल भए पनि हालसम्म पक्की पुल निर्माणको योजना स्वीकृत हुन नसकेको बताए। डा. आरजु राणा देउवाको पहलमा केही तटबन्धनको काम भए पनि अझै अपूरो रहेको उनको भनाइ छ। शान्तिकटानवासीको भावना चुनावी उम्मेदवारहरूले गम्भीरतापूर्वक मनन गर्नुपर्ने वडाध्यक्ष रानाले बताए।

Loading...