धनगढी- धनगढी उपमहानगरपालिकाले युवालाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउने उद्देश्यले सोमबारदेखि सिप तथा रोजगार मेला सञ्चालनमा ल्याएको छ। सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ८३ स्थानीय तहबाट छनोट गरिएका करिब ६ सय प्रशिक्षार्थी मेलामा सहभागी भएका छन्। मेला ४० दिनसम्म सञ्चालन हुने जनाइएको छ।



मेलामा ६ वटा मुख्य विधाअन्तर्गत २२ वटा उपविधामा तालिम प्रदान गरिनेछ। अटोमोबाइल्स, निर्माण, आतिथ्य तथा सत्कार, इलेक्ट्रिकल तथा मेकानिकल, सूचना प्रविधि तथा शैक्षिक–सेवा तथा आर्ट, क्राफ्ट र डिजाइनिङ विधामा तालिम सञ्चालन गरिएको छ।



सोमबार आयोजित विशेष कार्यक्रमकाबीच मेलाको औपचारिक उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले युवाहरूमा देशमै बस्न नसकिने मनोविज्ञान विकास हुनु गम्भीर विषय भएको बताए। उनले यही उकुसमुस अवस्थाबाट जेन्जी आन्दोलन उर्जाको विस्फोटका रूपमा देखिएको उल्लेख गर्दै अबको अर्को विस्फोट देशले धान्न नसक्ने चेतावनी दिए।
मन्त्री भण्डारीले श्रमप्रतिको सामाजिक दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिँदै समाजमा श्रमलाई ‘सरम’का रूपमा हेर्ने गलत प्रवृत्ति रहेको बताए। सुदूरपश्चिम र केन्द्रबीच भूगोलसँगै मनोविज्ञानको दूरी रहेको उल्लेख गर्दै विकास भाषणमा सीमित नभई देखिने र अनुभूत हुने गरी हुनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा उनले धनगढीको विकासमा नगरप्रमुख गोपाल हमालले गरेको पहलको प्रशंसा गरे। नगरप्रमुख हमालले विगतमा तालिमका नाममा ठूलो खर्च भए पनि परिणाम नआएको उल्लेख गर्दै धनगढीले परिणाममुखी र फरक अभ्यास गरिरहेको बताए। उनले तालिमपछि बजारको सुनिश्चितता हुने गरी कार्यक्रम सञ्चालन गरिएको स्पष्ट पारे।
मेलाको उद्घाटन सत्रमा सुदूरपश्चिम प्रदेशका ५५ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सहभागिता रहेको थियो। सहभागी जनप्रतिनिधिहरूले सिप तथा रोजगार मेलाबाट युवाहरूले सीप सिकेर सोही सीप स्वदेशमै प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।




