धनगढी- थारू समुदायको नयाँ वर्ष माघी (माघ) पर्वको अवसरमा कैलालीको गोदावरी नगरपालिकामा नगरस्तरीय थारू माघ महोत्सव आयोजना गरिने भएको छ । मौलिक थारू संस्कृति, संस्कार र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले महोत्सव गोदावरी नगरपालिका–८, मजगाउँस्थित थारू सङ्ग्रहालय परिसरमा सञ्चालन हुनेछ ।


बरघर भलमनसा गोदावरी नगर समिति, मजगाउँ थारू सामुदायिक होमस्टे र न्यु खुटिया चारपाते युवा क्लबको संयुक्त आयोजनामा माघ १२ देखि १४ गतेसम्म महोत्सव आयोजना गरिनेछ ।



महोत्सवमा थारू समुदायको मौलिक संस्कृति झल्काउने सांस्कृतिक झाँकी प्रदर्शन, स्थानीय थारू कलाकारहरूको सांगीतिक तथा नृत्य प्रस्तुति, कृषि प्रदर्शनीलगायत विविध कार्यक्रम समावेश गरिने महोत्सव मूल आयोजक समितिका संयोजक जनकलाल चौधरीले जानकारी दिए । साथै गोदावरी नगरपालिकाभित्र स्थायी बसोबास गर्दै आएका थारू समुदायका राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ ।
संयोजक चौधरीका अनुसार विगत १६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको माघ महोत्सवले थारू लोकसंस्कृतिको संरक्षणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । यसले स्थानीय स्तरमा सांस्कृतिक चेतना अभिवृद्धि गर्न र समुदायबीच एकता प्रवर्द्धन गर्नसमेत सहयोग पुर्याएको उनले बताए ।
त्यस्तै थारू कल्याणकारिणी सभाका केन्द्रीय पार्षद् माधव थारूले माघ महोत्सवले गोदावरी नगर क्षेत्रमा सांस्कृतिक जागरण फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनका अनुसार हाल नगरभित्रका अधिकांश थारू गाउँमा सखिया, मघौटा लगायतका परम्परागत नाच नियमित रूपमा प्रस्तुत हुन थालेका छन्, जसले थारू संस्कृतिको निरन्तरता सुनिश्चित गरेको छ ।