नेपालमा ‘एसियाली जलपन्छी गणना २०२६’ सुरु, ४०० भन्दा बढी जनशक्ति परिचालन गरिने

काठमाडौँ- नेपाल शनिबारदेखि ‘एसियाली जलपन्छी गणना २०२६’ सुरु भएको छ। सन् १९८७ देखि नेपालले निरन्तर सहभागिता जनाउँदै आएको यो गणना यस वर्ष जनवरी ३ देखि १८ सम्म सञ्चालन हुनेछ।

सिमसार र चरा संरक्षणको महाअभियान राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र नेपाल पन्छीविद् संघको संयोजनमा हुने यस गणनाले बसाइँसराइ गर्ने र पानीमा आश्रित चराहरूको संख्या तथा सिमसार क्षेत्रको अवस्थाबारे जानकारी संकलन गर्नेछ। यस कार्यले जलवायु परिवर्तनको असर र चराहरूको स्वास्थ्य अवस्था बुझ्न महत्त्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट एवं सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिएका छन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नेपालका प्रमुख नदी प्रणालीहरू कोशी, बागमती, नारायणी, कर्णाली र महाकालीसहित रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्र, राष्ट्रिय निकुञ्ज तथा आरक्षभित्रका विभिन्न क्षेत्रमा चरा गणना गरिनेछ। यस वर्षको गणनामा चराविद्, प्रकृतिप्रेमी, स्वयंसेवी र कर्मचारी गरी ४०० भन्दा बढी जनशक्ति परिचालन हुने अनुमान गरिएको छ। गणनामा क्यामेरा, दूरबीन र टेलिस्कोपको प्रयोग गरी ‘डाइरेक्ट काउन्ट’ विधिमार्फत चराको संख्या संकलन गरिनेछ।

गत वर्षको तथ्याङ्क र भावी योजना गत वर्ष सन् २०२५ मा गरिएको गणना अनुसार नेपालका ७८ वटा सिमसार, खोला र पोखरीहरूमा ९६ प्रजातिका ९६ हजार ५६५ वटा जलपन्छी अभिलेख गरिएका थिए। यस वर्षको गणनाले अन्तर्राष्ट्रिय महत्त्वको रामसार सूची र आईयूसीएनको रातो सूचीमा रहेका चराहरूको ताजा अवस्था पत्ता लगाउन मद्दत गर्नेछ।

यो अभियानले राष्ट्रिय सिमसार नीति र जैविक विविधता रणनीति कार्यान्वयनमा समेत टेवा पुऱ्याउने विश्वास गरिएको छ। यस गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष, प्रदेश सरकार र स्थानीय तहहरूले समेत समन्वय र सहयोग गर्नेछन्। यस वर्षको गणनाको अन्तिम नतिजा आगामी फेब्रुअरी २ मा मनाइने ‘विश्व सिमसार दिवस’ को अवसरमा सार्वजनिक गर्ने योजना रहेको विभागले जनाएको छ।

Loading...