धनगढी- सुदूरपश्चिमका तीन जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मध्यपहाडी राजमार्ग (साविक महाकाली राजमार्ग) को स्याउले–अनारखोली खण्ड एक महिनासम्म दैनिक ६ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।




जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जारी गरेको सूचनाअनुसार, सडक खण्डमा निर्माण कार्यका कारण शनिबारदेखि माघ १९ गतेसम्म प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म आवागमन रोकिनेछ ।


सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीका अनुसार, सडक डिभिजन कार्यालय डोटीको जिम्मेवारीमा रहेको खसरेखान क्षेत्रमा रक कटिङ तथा सडक चौडा गर्ने कार्य भइरहेका कारण यस्तो निर्णय गरिएको हो ।
डिभिजन कार्यालयका प्रमुख रमेश भट्टराईले भने, “सडक सुधार तथा चौडा गर्न उक्त खण्डमा साढे चार अर्बको ठेक्का लागेको छ ।” यस कारण यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्न वा समय मिलाएर यात्रा गर्नुपर्ने आवश्यकता छ ।




